हेटौँडामा जनवादी गायक शर्मा र कवि भण्डारी सम्मानित

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार ११:३९

मकवानपुर । आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा जनवादी गायक जीवन शर्मा र छन्द कवि ठाकुर शर्मा भण्डारी सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका जनवादी गायक शर्मा र काठमाडौंका छन्द कवि भण्डारीलाई वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले सम्मान गरेको हो ।

मकवानपुरगढी–३ मा रहेको भानु माध्यमिक विद्यालयमा प्रतिष्ठानले भानु जयन्ती विशेष कार्यक्रम आयोजना गरेको थियो । माविस्तरीय कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा जनवादी गायक शर्मा र छन्द कवि भण्डारीलाई १५र१५ हजार रुपैयाँ नगद राशिसहित वासुदेव स्मृति सम्मान–२०७९ बाट सम्मान गरिएको छ ।सम्मानित स्रष्टा शर्माले २५ सयभन्दा बढी गीतमा संगीत र ६ हजारभन्दा बढी गीतमा शब्द रच्नुभएको छ । यस्तै, भण्डारीको २७ वटा कृति प्रकाशित छ ।

माविस्तरीय कविता प्रतियोगितामा ३ जना उत्कृष्ट हुन सफल भएका छन् । जेनिशा चौलागाई, रजनी घोरसाइनी, सयुषा फुँयाल उत्कृष्ट भएका छन् भने रोजिता लम्साल र अप्सरा लम्साल सान्त्वना भएका हुन् । ९ जना प्रतियोगीहरुमध्ये ३ जना उत्कृष्ट र २ जना सान्त्वना हुन सफल भएका हुन् । उत्कृष्ट हुने तीन जनालाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ र सान्त्वना हुने २ जनालाई प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य मसान उपासक र सिस्नुपानी नेपाल मकवानपुर तथा नेपाली लेखक संघ मकवानपुरका सदस्य संप्रश पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले नेपाली भाषाको माध्यमबाट नेपाली भावनाको एकीकरण गर्न भानुले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, देवराज खरेल, साहित्यकारहरु माधव भण्डारी “रश्मी”, सुदर्शन अधिकारी, भानु माविका प्रधानाध्यपक राजेन्द्र थापा, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*