नगर प्रमुख कलवारद्वारा सम्पादक अधिकारी सम्मानित

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार ०८:०३

मकवानपुर । पत्रकार एवम् साहित्यकार द्वय सञ्जय साह र गिरिजा अधिकारीद्वारा लिखित बज्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । बज्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले सो पुस्तक विमोचन गरेका हुन् ।

मेयर कलवारले लेखक अधिकारी र साहको लेखनयात्राको निरन्तरताको कामना गरे । उनले भने, ‘सञ्जयजी, गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको मार्गमा अघि बढिरहनुहोस्, यहाँहरुको लेखनले मधेश र मधेशीहरुको पहिचान बज्जिका भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ, अझै अन्य विषयमा रचनात्मक ढंगले कलम चलाउनुहोला ।’

उनले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कला, साहित्य, भाषा, संस्कृतिलगायतको क्षेत्रलाई पनि समेटिएको बताए । ‘हामीले केही कार्यक्रमहरु तय गरेका छौँ । सरोकारवालाहरुसँग छलफल गरी आगामी दिनमा भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण, र प्रर्वद्धनमा अझै प्रभावकारी रुपमा नगरपालिकाले काम गर्नेछ । हामी सँगै छौँ ।’ उनले भने ।

सो अवसरमा साहित्यकार विश्वराज अधिकारीले मधेश क्षेत्रको भाषा, संस्कृतिको संरक्षणका सन्दर्भमा पहाडी र हिमाली समूदायकोसमेत सहयोग आवश्यक रहेको बताए । उनले आफु लामो समय अमेरिकामा रहेको भएपनि लेखन र साहित्यमार्फत् स्थानीय कला, भाषा तथा संस्कृतिको जगेर्णा गर्न लागिपरेको बताए ।

कार्यक्रममा सो पुस्तकका लेखक अधिकारीले पुस्तकमा बज्जिका भाषाको अवस्था, यसको प्रभाव, महत्व, संरक्षणको क्षेत्रमा देखिएका चुनौती, आगामी दिनमा गर्नुपर्ने तयारी, भाषा प्रर्वद्धनको क्षेत्रमा मिडियाको भूमिकालगायतका विषयमा तथ्यसहितका जानकारीहरु समावेश गरिएको बताए ।

सो अवसरमा साहित्यकारहरुले उक्त पुस्तकमाथि समिक्षा गरेका थिए भने बज्जिका भाषामा कविता सुनाएका थिए । संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पुस्तकका लेखक साहले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीलाई नगद ५ हजार राशीसहितको तुल्सी साहित्य सम्मान प्रदान गरिएको थियो भने लेखक एवम् तु खबर डटकमका सम्पादक अधिकारीलाई बज्जिका भाषाको विस्तार, अध्ययन, अनुसन्धान र प्रर्वद्धनको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर पुनम कुमारी चौधरी, साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*