हेटौंडा उपमहानगरपालिकाद्वारा जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार १६:१८

मकवानपुर । खेतीयोग्य जमिनको बढ्दो खण्डिकरणलाई न्यूनिकरण गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने निर्णय गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । बैठकले सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्वमा जग्गा वर्गीकरण कार्यदल गठन गर्नेसमेत निर्णय गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि नगरप्रमुखको अध्यक्षतामा रहने भू–उपयोग परिषदमा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागू गरिने भएको छ । त्यसपछि मात्रै हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सञ्चालन हुने जनाइएको छ ।

त्यसैगरी, कार्यपालिका बैठकले नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाको तर्फबाट शिक्षकको सूची तयार गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधासमेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न दुई जना आठौँ तहमा चिकित्सक नियुक्ति गर्ने र वृत्ति विकाससम्बन्धी विशेष ऐन, २०७५ खारेज गरी नयाँ ऐन निर्माण गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*