प्राकृतिक विपत्तिका घटनाको पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन

बकैया दर्पण संवाददाता
१६ असार २०७९, बिहीबार १४:२२

काठमाडौं । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ । मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो । प्रभावमा आधारित पूर्व सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिनुभयो ।

डा. उप्रेतीले विषयगत समितिलाई बिहीबार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिनुभएको थियो । टास्क फोर्सका संयोजकसमेत रहनुभएका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उद्देश्य राखेको बताउनुभयो । नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि विपद् व्यवस्थापन अन्तर्गत प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*