हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर ४ र पुरुषतर्फ ५ लाई उपाधि

बकैया दर्पण संवाददाता
२ फाल्गुन २०८१, शुक्रबार ०३:१४

बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिला र पुरुष दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा महिलातर्फको उपाधी वडा नम्बर ५ ले हात पारेको छ। वडा नम्बर ४ ले ६ लाई ५-० गोलले हराएको हो । ५ नम्बरलाई उपाधी दिलाउन कल्पना जिम्बाले व्यक्तिगत ४ गोल गरिन् । खेलको म्यान अफ द म्याच जिम्बा घोषित भइन् । उनले सेमिफाइनलमा पनि ह्याटि्रक गोल गरेकी थिइन् । प्रतियोगितामा उनले ७ गोल गरिन् । इश्वरी माया राईले एक गोल गरेकी थिइन् ।

जीतसँगै विजेता ४ नम्बरले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ६ नम्बरले २५ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट मिडफिल्डर २ नम्बरकी प्रमिला गोले, डिफेन्डर ४ नम्बरकी निरुता मोक्तान, गोलरक्षक ४ की मुना कुमारी घिसिङ, सर्वाधिक गोलकर्ता ४ नम्बरकी कल्पना जिम्बा र उत्कृष्ट खेलाडी ६ नम्बरकी सिर्जना मोक्तान घोषित भएका छन्, यस्तै वडा नम्बर १ अनुशासित टिम घोषित भएको छ।


यस्तै पुरुषतर्फको उपाधी ५ नम्बरले जितेको छ । ८ नम्बर वडालाई २-० गोलले हराउँदै ५ ले लगातार ३ पटक उपाधी जितेको हो । ५ नम्बरलाई जित दिलाउन यमराज योन्जन र नविन घिसिङले एक-एक गोल गरे ।

पुरुषतर्फको विजेता ५ नम्बरको टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ८ नम्बरले ५१ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट मिडफिल्डर ५ नम्बरका नवीन घिसिङ, डिफेन्डर ५ नम्बरका मिम घलान, गोलरक्षक ५ का अंकित माझी, सर्वाधिक गोलकर्ता ४ नम्बर सुनिल कुमार मोक्तान र उत्कृष्ट खेलाडी ८ नम्बरका सागर माझी घोषित भएका छन् । यस्तै वडा नम्बर ७ अनुशासित टिम घोषित भएको छ।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहल (राजन) र हरिहतपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा लगायतले बल हस्तान्तरण गरेर फाइनल खेल सुरु गर्नुभएको थियो ।

हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई(हिमाल) को सभाध्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता समापनको सहजीकरण पालिका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीले गर्नुभएको थियो भने विधागत उत्कृष्टहरुको विवरण विशेष अफिसियल भुवन राइले प्रस्तुत गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*