बागमती प्रदेशसभा बैठक बस्दै, बजेट आज पास हुने

बकैया दर्पण संवाददाता
१६ असार २०७९, बिहीबार १०:२२

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याइएको विनियोजित बजेट पारित गर्ने तयारी रहेको छ । प्रदेश सरकारले विनियोजित बजेटमाथि छलफल सकिएसँगै आज पारित गर्ने तयारी गरेको हो । असार १२ गतेदेखि सुरु भएको बजेटमाथिको छलफल बुधबार राति सम्पन्न भएको थियो । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको विषयगत शीर्षकहरुमाथि उठाएको प्रश्नहरुको विभागीय मन्त्रीहरुसहित मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।

मन्त्रीहरुले सांसदहरुको प्रश्नको जवाफ दिँदै समग्र प्रदेशको विकासका लागि आएका योजनाहरुमा बजेट प्रयाप्त नभएपनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनाहरुमा बजेट विनियोजन गरेको बताए । उनीहरुले योजना र गर्नुपर्ने काम बढी भएकोले आर्थिक वर्षको बिचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताए ।

विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वकाक्षी योजनाहरु वर्तमान सरकारले बजेटमा समावेश नगरेको उल्लेख गर्दै उनीहरुले राम्रो र प्रगतिशिल बजेट आएका बताए । सरकारले लक्ष्य अनुसार, योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाको लागि कार्यविधी नै तयार पारेर अघि बढाएको उनीहरुको भनाई छ । सरकारले आवयश्यक मोडल तयार गरेर समाजवादी कार्यक्रम कार्यान्वयन गरिने र सो कार्यक्रमलाई जवाफदेही र नतिजा उन्मुख बनाउने लक्ष्य लिएको स्पष्ट पारेका थिए ।

प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट ल्याएको छ । गत असार १ गते बसेको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट उक्त बजेट सार्वजनिक गरेका हुन् । सरकारको आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*