बाढी र पहिरोले प्रमुख राजमार्गहरु अवरुद्ध

बकैया दर्पण संवाददाता
१५ असार २०७९, बुधबार ११:०४

मकवानपुर । मंगलबारदेखि भईरहेको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक स्तरोन्नतीका क्रममा सवारी पार गराउन बनाइएका डाइभर्सन खहरेखोलामा आएको बाढीले बगाएको हो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधनहरुको लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् । पानी क्रम जारी रहेकाले नयाँ डाइभर्सन बनाएर सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले बताउनुभएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड पनि अवरूद्ध भएको छ । सो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन बन्द भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरा सडकमा झरेको छ भने पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुलमा पनि पहिरो गएको छ ।

यस्तै, पाल्पाकै रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले स्थाीय मंगल हिताङको पसल पुरेको छ । यता, तनहुँको आँबूखैरेनीमा पहिरो जाँदा पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

सिन्धुली जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग अन्तर्गतका सडकखण्ड अवरुद्ध भएका छन् । अवरुद्ध भएका सडकहरु सञ्चालन गर्न सडक विभाग तथा स्थानीय प्रशासनले प्रयास गरिरहेका छन । सिन्धुलीमै कमला, मरिण र चदाहा नदीमा आएको बाढीले हजारौं हेक्टर खेतीयोग्य जमीनको कटान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*