प्रदेश युवा परिषद् स्थापनाको एक वर्ष पूरा

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १६:१९

मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद् स्थापना भएको एक वर्ष पूरा भएको छ । परिषद्ले प्रथम स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी हेटौंडामा मनाइएको छ । बुधबार स्थापना दिवसको अवसरमा प्रदेश युवा परिषद्ले शुभकामना आदानप्रदान, अन्तरक्रिया, रक्तदान तथा हेटौंडा अस्पतालमा विरामीलाई फलफूल वितरण मनाइएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले युवालाई छोडेर समाजवादको विकास गर्न नसकिने बताउनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यवसायमा लैजानु पर्ने बताउनुभयो । युवाहरुलाई राष्ट्र निर्माण गर्ने अभियानमा लगे मात्र मुलुक बन्ने र परिवर्तन पनि आउने बताउनुभयो । प्रत्येक स्थानीय तहमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने बताउनुभयो । युवा परिषद्ले रोजगारीको ग्यारेन्टीसहित तालिम दिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले युवाहरु हप्ता उठाउने मात्र नभई नीति निर्माण र सरकार सञ्चालन गर्ने तहसम्म अवसर पाउनु पर्ने बताउनुभयो । युवालाई राजनीतिक दलले आफु उच्च स्थानमा नपुगेसम्म प्रयोग, परिचालन गर्ने र आफु उच्च स्थानमा पुगेपछि छाड्ने प्रवृत्तिले युवाले अवसर नपाएको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामाले सामाजिक परिवर्तन गर्नको निमित्त राजनीतिक क्षेत्रमा युवा लागेको बताउनु भयो । देशको हरेक क्षेत्रमा युवालाई समेटनुपर्ने लामाको भनाइ रहेको छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई राज्यले स्थान दिनु पर्ने बताउनु भएको छ । नीति निर्माणको क्षेत्रमा युवालाई परिचालन गर्नुपर्ने चौलागाईंको भनाइ छ । युवाको क्षेत्रमा काम गर्र्ने कुनै नीति नभएको उहाँको भनाइ रहेको छ । आउँदो समयमा प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने चौलागाईंको भनाइ रहेको छ ।

कार्यक्रममा प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिब ध्रुब गैडा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*