झरनाद्धारा बकैयाका जनप्रतिनिधिहरुलाई सम्मान

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २७८ औँ साहित्यिक शृङ्खलाअन्तर्गत शनिबार बकैया गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष, पालिका उपाध्यक्ष,बडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्रसहित सम्मान गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनाअनुसार स्थानीय प्रज्ञा प्रतिष्ठानको काम गर्ने उद्देश्यले गत चैत १० गते कार्यपालिका बैटकबाट पारित ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को कार्यविधिअनुसार आगामी गाउँसभाबाट प्रतिष्ठानको ऐन पास गर्ने, कार्यविधिबमोजिम कार्यसमिति गठन गर्ने लगायतको कार्यभार पुरा हुने अपेक्षासहित सम्मान कार्यक्रम आयोजना गरिएको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।
कार्यक्रम बकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उहाँले झरनाले गरेको गतिबिधिले बकैयालाई राष्ट्रिय रुपमा समेत चिनाउन सहज भएको उल्लेख गर्दै आगामी दिनमा ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को रुपमा पनि सत्रिलयतापूर्वक गतिबिधि गर्नेमा आफु आशाबादी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा मन्तव्य राख्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले आफु कला, साहित्य र संस्कृतिको जगेर्ना गर्न तयार रहेको बताउदै ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को बाकी काम पनि चाडै सम्पन्न हुने आश्वासन दिनुभयो । साथै चाडै ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’को आफ्नै भवन निर्माणमा आफुहरुको तदारुकता रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकार जर्नादन खनाल, स्रोत शिक्षक चन्द्र देबकोटा, बुद्ध माविका शिक्षक हरि घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।