बाग्मती र गण्डकी प्रदेशका सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर राख्नुपर्ने

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:०६

मकवानपुर । यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीलाई आग्रह गरेको छ ।

प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयमा दर्ता रहेका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले आग्रह गरेको हो । सरकारले गत कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । विभागले बाग्मती प्रदेशको ललितपुर एकान्तकुना, काठमाण्डौको गुर्जुधारा र गण्डकी प्रदेशको पोखराबाट इम्बोस्ड नम्बर प्लेट वितरण गर्न आवश्यक पूर्वाधारको व्यवस्थापन भइसकेको जनाएको छ।
तर सङ्घीय कानूनअनुसार अहिलेसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी व्यवस्था र निर्णय कार्यान्वयन नभएकोमा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको विषयमा आगामी साउन एक गतेपछि अनुगमन गर्ने विभागको तयारी रहेकाे छ ।
अनुगमनमा तोकिए अनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने विभागले जनाएको छ । सरकारले पाँच वर्षमा २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको भए पनि चालूआर्थिक वर्षको फागुनसम्म ८ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।
सरकारले इम्बोस्ड नम्बर जडानका लागि दुई पाङ्ग्रेका लागि २ हजार ६ सय र ट्रक जस्ता ठूला गाडीमा ३ हजार ६ सय रुपैयाँ शुल्क तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*