हेटौंडा १८ का कृषकले खेत जोत्दा अनुदान पाउने, स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको सेवा

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १३:०७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १८ का कृषकले खेतबारी जोत्दा अनुदान पाउने भएका छन् । नवनिर्वाचित वडाअध्यक्ष अनिलकुमार बानियाँले वडाबासी किसानलाई कृषि कर्ममा प्रोत्साहन गर्न बर्षको १ पटक खेतबारी जोत्दा लाग्ने कूल खर्चको १५ प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका हुन् । उनले दोस्रो पटक वडा अध्यक्ष निर्वाचित भएको पहिलो बैठकमा सो निर्णय गरेका हुन् ।

उनले कार्यविधि बनाएर यो कार्यक्रम चाँडै प्रभावकारी रुपमा कार्यान्वयन गरिनेसमेत बताए ।
त्यस्तै उनले वडाको सामुदायिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरसहितको सेवा सुचारु गर्ने निर्णय गरेका छन् । उनले आगामी आर्थिक वर्षको साउन महिनाको पहिलो हप्ताबाट स्थानीय हर्नामाडी स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरसहितको सेवा प्रवाह गर्ने गरी तयारी अगाडि बढाइसकिएको जानकारी दिए । स्वास्थ्य चौकीको भौतिक संरचनाको मर्मत र प्रयोगशालाको स्थापनामा पनि जोड दिइने उनले बताए ।

एमबीबीएस डाक्टरसहितको सेवा सुरु भएपछि स्थानीय स्वास्थ्य चौकीबाटै सहज रुपमा वडाका नागरिकहरुको स्वास्थ्य परिक्षण र उपचार हुने वडा अध्यक्ष बानियाँले बताए । त्यस्तै उनले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरुलाई पूर्णता दिइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*