४ स्रष्टालाई सम्मान गर्दै साहित्य सङ्गम मकवानपुर

बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार ११:०९

मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यस वर्ष ४ स्रष्टा लाई सम्मान गर्ने भएको छ । हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि प्रदान गरिने संगमले जनाएको छ ।

सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । रिमालका परिवारले अक्षयकाेष स्थापना गरेको सम्मानको राशी २० हजार एक रुपैयाँ रहेको छ ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिने भएको छ । यस सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यस्तै, हास्यव्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशी जनही १० हजार एक रुपैयाँ रहेको छ ।

साहित्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको सङ्गमले साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको संस्थाकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । उनले जेठ २२ गते हेटौंडा–२ मा रहेको धार्मिक पर्यटकीय स्थल वनस्खण्डीमा हुने विशेष साहित्य कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरिने उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*