राक्सिराङमा ६ जना कार्यपालिका सदस्य चयन

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०७९, सोमबार ०७:१९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचन आइतबार भएको छ । निर्वाचनबाट ४ जना महिला सदस्य र २ जना अल्पसंख्यक तथा दलितबाट निर्वाचित भएका छन् ।

महिलातर्फ नेपाली कांग्रेसबाट सुजाता दमाई (३१ मत), सुजिता मुक्तान (३० मत), शान्ताकुमारी अर्याल (३० मत) र सुशीला सुनार (३० मत) निर्वाचित भएका छन् । नेकपा एमालेकी उम्मेद्वार आशामाया थिङले १७ मत मात्रै प्राप्त गरिन् । यस्तै दलित तथा अल्पसंख्यकतर्फ नेकपा एमालेका सिंगलाल प्रजा २४ मतसहित निर्वाचित भए । यता नेकपा माओवादी केन्द्रबाट चन्द्रमान प्रजा २९ मतसहित निर्वाचित हुँदा माओवादीकै अर्का उम्मेद्वार रावण प्रजा भने २३ मतले पराजित भए ।

स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भए पनि कार्यपालिका सदस्य निर्वाचनमा भने गठबन्धन दलबाट मतदान गर्दा भोट क्रस भयो । ९ वटा वडा भएको राक्सिराङ गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचनबाट ४७ जना निर्वाचित भएका छन् । २ जना अल्पसंख्यक तथा दलित समुदायबाट प्रतिनिधित्व भएपछि गाउँ परिषद् सदस्यको संख्या ४९ पुगेको छ । यस्तै कार्यपालिका सदस्य भने १७ सदस्यीय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*