सर्वोच्चको फैसलाविरुद्ध निजगढमा विरोध, पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार १४:१९

मकवानपुर । सर्वोच्च अदालतले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि नबनाउन गरेको आदेशप्रति बारामा विरोध सुरु भएको छ ।

फैसलालगतै नेकपा (माओवादी केन्द्र)ले निजगढमा नाराबाजीसँगै राँके जुलुश गर्दै शुक्रबार स्थानीय युवा, विद्यार्थीहरूले निजगढमा चक्काजाम गरेर विरोध थालेको हो ।

निजगढस्थित विभिन्न संघ संस्था राजनीतिक दलले विरोधका कार्यक्रम अभियानकै रूपमा लैजाँदै पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका छन् ।

वातावरण संरक्षणको नाममा अमुक शक्तिमार्फत सर्वोच्च अदालतबाट आदेश गराइएको भन्दै जिल्लाका अन्य स्थानमा समेत विरोध प्रदर्शन भएको छ ।

गत महिना विमानस्थल परियोजनाको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नागरिक उड्ययनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेका थिए ।

परियोजनाको मुख्य केन्द्रमा रहेको टागीया बस्तीम मन्त्री आलेले आगामी आर्थिक वर्षको सुरुवातमै बस्ती स्थानान्तरण हुने जानकारी गराउनुभएको थियो ।

२०५१ सालमा देशभर गरिएको विस्तृत अध्ययनबाट टुंगो लागेको निजगढमा विमानस्थल निर्माणका लागि ११० बिघा जग्गाको मुआब्जा प्राधिकरणले दिइसकेको छ ।

विमानस्थलले चर्चेको चार किल्ला भित्रको वन क्षेत्र सिमाङ्कन गरी रुख गणनाको समेत काम सकिएको छ भने पसाह खोलामा तटबन्धन लगाएतका निर्माण सुचारु अवस्थामै रहेको छ ।

निर्णय नसच्चिएसम्म नियमित आन्दोलन भइरहने एयरपोर्ट निर्माण तथा मुल व्यवस्थापन सरोकार समितिका संयोजक रविराज दङ्गालले बताउनुभयो ।

विमानस्थल आयोजनाका लागि अहिलेसम्म साढे ३ अर्बभन्दा बढी रकम खर्च भइसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*