मकवानपुरमा साँझ ७ बजेपछि निर्वाचन प्रचारप्रसारको कार्य नगर्न निर्देशन

बकैया दर्पण संवाददाता
२४ बैशाख २०७९, शनिबार १८:२७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा सबै पक्षले पालना गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैह्रेले शनिबार एक सूचना जारी गरी स्थानीय तह निर्वाचन आचारसंहिता, २०७८ पालना गर्ने/गराउने सन्दर्भमा जिल्लास्तरका राजनीतिक दललगायत सरोकारवालाहरूसँग पटक–पटक छलफल भएको भन्दै सो निर्देशन दिएका हुन् ।

जारी सूचनामा आचारसंहितामा तोकिए अनुरूप मात्र झण्डालगायतका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू प्रयोग गर्न, साँझ ७ः०० बजेपछि कुनै किसिमका निर्वाचन प्रचारप्रसारका कार्यहरू नगर्न र आजबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि बेलुकी ८ः०० बजेपछि मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने कार्य नगर्न/नगराउन आग्रह गरिएको छ ।

यसैगरी, ठूलो आवाजमा माइकिङ्ग गरी ध्वनी प्रदूषण गर्ने कार्य तत्काल बन्द गर्न, विभिन्न किसिमका सञ्चार माध्यम, सामाजिक सञ्जाल आदीमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायत कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने जस्ता अवाञ्छित गतिविधिहरू नगर्न प्रशासनद्वारा सूचनामा उल्लेख छ ।

साथै प्रशासनले यस सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*