एक साथ दुई कृति लिएर आए साहित्यकार मसान

बकैया दर्पण संवाददाता
१६ बैशाख २०७९, शुक्रबार ११:०३

मकवानपुर । मकवानपुरे साहित्यकार मसान उपासकले एक साथ दुई कृति लिएर पाठक माझ आएका छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकसाथ ल्याएका हुन् ।

साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वार लिखित कविता सङ्ग्रह ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ गजल सङ्ग्रह बुधबार एकसाथ विमोचन गरिएको छ ।

सङ्गमको प्रेक्षालयमा भएको कार्यक्रममा साहित्यकार मसानका मातापिता गोमा सञ्जेल र रामप्रसा सञ्जेल, साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले सयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

साहित्यकार मसानले पहिलो पटक एक साथ दुई पुस्तक प्रकाशित गरेका हुन् । कविता सङ्ग्रह ‘मानचित्रमा देश’ ४६ वटा कविता सङ्ग्रहित रहेका छन् । यस्तै गजल सङ्ग्रह ‘ अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ । कविता सङ्ग्रह ८० र गजल सङ्ग्रह ६४ पृष्ठको रहेको छ ।

विमोचन गरिएको कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ माथि साहित्यकार तथा पत्रकार रामकुमार एलनले टिप्पणी गरेका थिए । गजल सङ्ग्रह ‘अक्षर आराधन’ माथि साहित्यकार देवराज तिवारीले टिप्पणी गरेका थिए ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी रहेका थिए । कार्यक्रममा प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, आँचल साहित्य कला पुञ्जकी सचिव भावना सापकोटा, नोपली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यलगायत साहित्यकार तथा पत्रकारको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*