नयाँ वर्षसंगै पालिका सन्चारको यात्रारम्भ

बकैया दर्पण संवाददाता
१ बैशाख २०७८, बुधबार ०७:०१

वैशाख १ नयाँ वर्षको सुभारम्भ दिन । एउटा साल बिदा गरी अर्को साल सुभारम्भको पहिलो दिनलाई नेपालीले हर्षोल्लाका साथ लिन्छन् । यो हर्षको दिन नेपाली सन्चारमाध्यममा अर्को हर्ष, खुशी थप्न हामी आएका छौं-पालिकासन्चार डटकम । पालिका सन्चार प्रा.लि.को प्रकाशनमा आजबाट पालिकासन्चार प्रकाशन सुभारम्भ गरिएको छ । नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीलाई शुभकामना अर्पण गर्दै सन्चार जगतमा हाम्रो उपनि उपस्थिती भएको छ । नयाँ वर्षको उदाउँदो विहानीसंगै पालिकासन्चार पनि उदाएको छ । आजबाट यात्रारम्भ पालिकासन्चारलाई आफ्नै सन्चारमाध्यमका रुपमा यसका प्रयोगकर्ताले ग्रहण गर्नुुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।

पालिका सन्चार नामैले पनि अर्थ राख्छ कि हाम्रा प्राथमिकता र हामीले उजागर गर्ने सवाल । पालिकाका सवाल, खबर, सूचना, अवसर, सफलताका कथा, असफलताका व्यथा लगायत तमाम पालिकासंग सम्बन्धित सामग्रीलाई समेट्ने प्रयत्न हाम्रो हुनेछ । पालिकाप्रति खबरदारी गर्दै पालिकाबासीको सवालबारे बोल्नु हाम्रो दायित्व हुनेछ । यही दायित्वबोध गरेरै हामीले अनलाइन सन्चारमाध्यममा आफ्नो उपस्थिती जनाएका हौं । यो उपस्थिती केबल उपस्थितीमात्र बन्ने छैन । पालिका र नागरिकबीच सम्बन्ध विकासको एउटा सेतु बन्नका लागि आवश्यक सन्चारको काम पालिका सन्चारले गर्नेछ । विशेषगरी मकवानपुरको दश वटै पालिकाका सवाललाई समेट्नु अनि पालिकासंग सम्बन्धित विविध सूचना सम्प्रेषण गर्नु हाम्रो कार्य हुनेछ । पालिका सन्चार केबल पत्रकारिताका लागि मात्र उपस्थित भएको छैन, पालिकाप्रति खबरदारी गर्ने एक नागरिक अभियन्ता बन्ने सोच सहित प्रकाशनमा आएको हो ।

नेपाली सन्चारमाध्यममा अनेकन् सुख, दुःख छन् । राजनीतिक परिस्थितीको प्रभाव सन्चारमाध्यममा नपर्ने कुरै भएन । देशमा परिवर्तन भए पनि विकास र समृद्दिका सपना पूरा भएनन् । शासन व्यवस्था नै परिवर्तन भएपनि नागरिकले अनुभूत गर्न पाइरहेका छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा नागरिकले सुख पाउँने सपना देखिमात्र रहे । सपना साकार पार्ने कर्मको थालनी कोहीबाट हुन सकेन । नागरिकको जीवन सहज बनाउँन, सामान्य रुपमा जीवनयापन गर्ने वातावरण बनाउँन कसैले सकेनन् वा त्यसको प्रयाससम्म गरेनन् । किन नेपाली नागरिक एकपछि अर्को समस्यामा पुगिरहेका छन् ? नेताले देखाएका सपनाका बाटोहरु किन पहिल्याउँनसम्म सकिएको छैन ? नेतामात्रै दोषी कि हामी नागरिक पनि ? सामान्य दैनिकी गुजारा टार्नका लागि किन देशै छाड्नुपर्ने परिस्थिती बनिरहेको ? केही गर्न खोज्ने, चाहानेलाई किन कुनै उपयुक्त अवसर नदिइएको ? अवसर बाँडफाँडमा किन आफन्तमात्रै पर्ने गरेको ? यी र यस्तै प्रश्नले हरेक नेपालीको मन कुडिएको छ । के अब यी प्रश्न सोध्दै मन कुडाएर बस्नेमात्रै हाम्रो नियति हो त ? कि यी आम नेपालीको सरोकारबारे बोलिदिने पनि कोही छन् ? हेर्दा सामान्य लागेपनि यस्ता आम सवाल साँच्चै आम मान्छेका लागि ठूलो सपना हो । यी साना सपना पूरा गर्ने काममा दल, नेता, सरकारले ध्याने हो भने अरु ठूला महत्कांक्षाको सूची केही आउँदैन । केवल आफ्ना दैनिक जीवन सहज बितोस्, जीवनशैली सहज होस्, आफ्नै भूमीमा कर्म गरी खाने वातावरण बनोस् भन्ने चाहाना आमनेपालीको हो । यो चाहाना पालिका सरकारले पूरा गर्नसक्छ, विभिन्न कार्यक्रम तथा नीति निर्माणमार्फत । तर यसका लागि आवश्यक छ त केबल इच्छाशक्तिको । पालिकासन्चार पालिका सरकारसंग सहकार्य, भूमिका निभाउँदै आम पालिकाबासीको तमाम गुनासो सुन्न, समाधानका लागि सन्चारकर्म गर्न तयार भएर आएको हो । नयाँ वर्ष २०७८ को सुरुवातसंगै थालनी गरिएको यो यात्रामा जोडिनुहुने तपाईं तमाम पालिकाबासीमा नयाँ सालले सुखद् क्षणहरु संग्रहण गर्ने अवसर देओस् । सबै नेपाली जनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उचित सल्लाह, सुझाव एवं प्रतिकृयाको अपेक्षा राख्दछौं ।

सन्दीप कुमार सापकोटा
अध्यक्ष तथा सम्पादक, पालिका सन्चार प्रा.लि.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*