सरकारका २४ मन्त्रीको आगामी चुनावमा कसलाई कति सहज/असहज ?

बकैया दर्पण संवाददाता
१ भाद्र २०७९, बुधबार १५:१७

मकवानपुर । प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ ।
सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ । गठबन्धनले कार्यदल बनाएर सीट बाँडफाँडको गृहकार्य थालेका छन् । गठबन्धनको बैठक निरन्तर हुन थालेका छन् ।
गठबन्धन बन्ने भएकाले अधिकांश मन्त्रीहरू चुनाव जित्नेमा आशावादी छन् । तर, कतिपय निर्वाचन क्षेत्र तालमेल भएपनि सुरक्षित छैनन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतका आधारमा कुन निर्वाचन क्षेत्र बलियो र कमजोर भनेर विभिन्न खालका विश्लेषण भइरहेका छन् ।

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा २०४६ सालपछि भएका सबै निर्वाचन जित्ने एक मात्र कांग्रेस नेता हुनुहुन्छ । डडेल्धुराबाट उहाँले लगातार ६ पटक चुनाव जित्नुभएको छ । विगतमा वामपन्थी दलहरू एक ठाउँ हुँदा पनि चुनाव हराउन नसकेकाले देउवा यसपटक झन् ढुक्क देखिनुभएको छ । अघिल्लो पटक देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाउनुभएको थियो । कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ ।
स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय मत पाएका छन् । नेकपा एसको ५ हजार ४१ मत छ ।
पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टी छाडेर कांग्रेस बीपीमा लागे पनि देउवा चिन्तित हुनुहुन्न । सार्वजनिक कार्यक्रममा देउवालाई चोटिलो प्रश्न सोधेर चर्चामा आउनुभएको सागर ढकालले समेत डडेल्धुरा पुगेर चुनावी अभियान शुरू गर्नुभएको छ । देउवालाई कैलाली र कञ्चनपुरबाट पनि चुनाव लड्न प्रस्ताव आएको छ ।
२०६४ सालको संविधानसभा चुनावमा देउवा कञ्चनपुरबाट पनि विजयी हुनुभएको थियो । तर देउवाले डडेल्धुराबाट नै चुनाव जित्ने कांग्रेसका एक नेताले बताए । एमालेका तर्फबाट अहिलेसम्म देउवासँग भिड्ने पात्रको टुंगो लागेको छैन ।

बालकृष्ण खाँण

सरकारमा दोस्रो वरीयतामा रहेका गृहमन्त्री बालकृष्ण खाँण कांग्रेसका प्रभावशाली नेता रहनुभएको छ ।
विगतमा पटक–पटक प्रत्यक्ष चुनाव जिते पनि २०७४ सालमा खाँण समानुपातिक प्रणालीबाट संसद्मा आउनुभएको थियो । खाँण चुनाव लडेको क्षेत्रबाट २०७४ सालमा एमालेका घनश्याम भुसाल विजयी हुनुभएको थियो । कांग्रेसले राप्रपाका दीपक बोहोरालाई उठाएको थियो ।
यसपटक भने खाँण चुनाव लड्ने तयारीमा लाग्नुभएको छ । यसबीचमा खाँणले निर्वाचन क्षेत्र फेर्ने चर्चा पनि चलेको थियो । तर, खाणले रुपन्देही– ३ बाटै चुनाव लड्ने तयारी गरेको रुपन्देहीका कांग्रेस नेताहरू बताउँछन् । विगतमा एमालेले जिते पनि यसपटक कांग्रेसका लागि अनुकूल रहेको रुपन्देहीका नेताहरू बताउँछन् ।
निर्णायक मत रहेको तिलोत्तमा नगरपालिकाको मेयरमा खाँणका भाइ नै विजयी हुनुभएको छ ।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले धेरै भोट पाएको छ । चुनावको शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्रीलाई सुरक्षा स्रोतले चुनाव जित्न सकिने भनेर गोप्य रिपोर्ट दिएको चर्चा छ ।
गत चुनावमा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले ३२ हजार ८ सय ६६ मत प्राप्त गर्दा कांग्रेसको समर्थन पाएका दीपक बोहराले २७ हजार ४ सय २२ मत पाउनुभएको थियो ।
स्थानीय तह निर्वाचनमा रुपन्देही– ३ मा कांग्रेसको ३४ हजार १ सय ५३ मत छ । एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३ सय ९७ तथा जसपा ६ हजार १ सय ८३ र माओवादीको २ हजार ८ सय ८१ मत छ ।
ज्ञानेन्द्रबहादुर कार्की

२०७४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी गठबन्धनको हुरीले नछोएकामध्ये ज्ञानेन्द्रबहादुर कार्की पनि हुनुहुन्छ । भोजपुरबाट निर्वाचन क्षेत्र सुनसरीमा सारेका कार्कीले २०७४ सालमा दुर्लभ जीत हाँसिल गर्नुभएको थियो । सरकारमा तेस्रो वरीयताका मन्त्री रहेका कार्की देउवाका विश्वास पात्र रहनुभएको छ ।
विगतमा चुनाव लड्ने बेला अर्थमन्त्री रहनुभएको कार्की अहिले सञ्चारमा रहनुभएको छ । केपी ओलीसँग देउवाको सम्पर्क सेतु समेत रहनुभएको कार्की ग्रिन जोनमा परेका नेता हुनुहुन्छ ।
सुनसरी ४ मा स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । २०७४ सालको चुनावमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दा एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० पाउनुभएको थियो ।
स्थानीय तह निर्वाचनमा सुनसरी– ३ मा नेपाली कांग्रेसले २८ हजार ७ सय ५६ मत ल्याउँदा एमालेले २३ हजार ६ सय १३, जसपाले ९ हजार ८ सय ६३ र नेकपा एसले ३ हजार ७ सय तथा माओवादीले ३ हजार ६ सय ४६ मत पाएका छन् ।

पम्फा भुसाल

देउवा सरकारमा चौथो वरीयताका ऊर्जामन्त्री पम्फा भुसाल पनि ग्रीनजोनमै रहनुभएको छ ।
माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये जित्ने सुनिश्चित भएको ललितपुर– ३ नै हो । माओवादीले उपत्यकामा रोज्ने पहिलो रोजाइ नै ललितपुर–३ हुने माओवादीका नेताहरू बताउछन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचित भुसाल २०६४ सालको चुनावमा यही क्षेत्रबाट चुनाव जित्नुभएको थियो ।
विद्यार्थीकालदेखि यही क्षेत्रमा राजनीति गर्नुभएका भुसालको व्यक्तिगत लोकप्रियताको भोट छ । २०७० सालको संविधानसभा चुनाव नलडेको समयमा पनि स्थानीयहरू समस्या लिएर उहाँकोमा जाने गरेका थिए ।
माओवादीको प्रभाव रहेको ललितपुर १ मा कांग्रेसले जित्नका लागि पनि ३ मा माओवादीलाई सघाउनु पर्ने बाध्यता छ । २०७४ सालको चुनावमा भुसालले २४ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका मदन अमात्यले २२ हजार २ सय २९ मत प्राप्त गरेका थिए । पछिल्लो कार्यकालमा भुसालले ललितपुर महानगरका दुर्गम क्षेत्रमा पर्ने गाउँ गाउँसम्म बाटो विस्तार गर्नुभएको थियो ।
राजेन्द्रप्रसाद श्रेष्ठ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका जसपाका राजेन्द्र श्रेष्ठ कुन क्षेत्रबाट उठ्ने भन्ने यकिन छैन । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी समानुपातिक सांसद रहनुभएको छ ।
नेकपा एमालेमा छँदा उहाँ २०५१ सालको चुनावमा काठमाडौं– ५ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौंमा खासै जनमत नभएको जसपाले मधेशका जिल्लामा धेरै सीट दाबी गर्ने भएकाले राजेन्द्र फेरि पनि समानुपातिकमा बस्ने सम्भावना रहेको जसपा स्रोतले बतायो ।

जनार्दन शर्मा

सरकारका प्रभावशाली अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाटै चुनाव लड्दै हुनुहुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछिका चुनावमा उहाँ अविजित नेता रहनुभएको छ । माओवादीको उद्गम थलो रुकुममा माओवादी एक्लै बलियो छ । त्यसमाथि सत्ता गठबन्धन हुँदा शर्मालाई चुनाव जित्न कठिन छैन ।
पछाडि पारिएको रुकुममा विकासका लागि उहाँले धेरै काम गरेको स्थानीय बताउँछन् । २०७४ सालको चुनावमा शर्माले प्रतिस्पर्धी उम्मेदवार भन्दा दोब्बर बढी मतले जित्नुभएको थियो । शर्माले ३४ हजार ४ सय २ मत पाउँदा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत पाउनुभएको थियो । २०७४ सालको प्रतिनिधिसभा चुनावमा वामपन्थी गठबन्धनको ‘मास्टरमाइन्ड’ रहनुभएको शर्माले यसपटक कांग्रेससँग गठबन्धन गर्नुपर्ने लबिङ गर्नुभएको थियो । रुकुम पश्चिममा कांग्रेसका कसैले दाबी गरेका छैनन् भने एमालेको तर्फबाट उठ्ने पात्रको पनि टुंगो लागेको छैन ।
स्थानीय तह निर्वाचनमा रुकुमपश्चिममा माओवादीले ४ वटा स्थानीय तह जितेको थियो । एमाले भने शून्य छ । स्थानीय चुनावमा माओवादीले ३७ हजार १ सय २ मत ल्याउँदा, कांग्रेसले २६ हजार ६ सय ६० र एमाले ६ हजार १ सय २४ मत पाएको छ ।

उमाकान्त चौधरी

नेपाली कांग्रेसको कृष्ण सिटौला क्याम्पबाट खानेपानी मन्त्री बन्नुभएको चौधरी २०७४ सालमा बारा १ बाट प्रत्यक्ष चुनाव जित्नुभएको हो ।
चौधरीले २४ हजार ४ सय ५० भोट पाउँदा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत पाउनुभएको थियो । जीतपुर सिमरा उपमहानगरपालिका जितेको माओवादीले बारामा १ सीट दाबी गरेको छ । कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले टिकट पाउने र जसपासँग तालमेल गर्दा उसले पनि एक सीट दाबी गर्ने सम्भावना छ ।
यद्यपि टिकट बाँडफाँड गर्ने कार्यदलको संयोजक कृष्ण सिटौला बनेका कारण चौधरीले टिकट पाउने सम्भावना छ । चौधरी सिटौला प्यानलका हुनुहुन्छ ।
स्थानीय तह चुनावमा यस क्षेत्रमा कांग्रेसले ३२ हजार ३ सय ५६, एमाले २५ हजार ८ सय ८, लोसपा ९ हजार ५ सय ५ र माओवादीले ६ हजार ३ सय ४३ मत पाएका छन् । यस्तै जसपाको ६ हजार १ सय ४३ मत छ ।

नारायण खड्का

देउवा सरकारमा परराष्ट्र मन्त्रीको जिम्मा पाएका नारायण खड्काले उदयपुरबाट चुनाव जित्दै आउनुभएको छ ।
भर्खरै सम्पन्न चुनावमा उदयपुरमा कांग्रेस र माओवादीले राम्रो प्रदर्शन गरेका थिए । तर, स्थानीय भने खड्कासँग सन्तुष्ट नरहेको कांग्रेस स्रोत बताउँछ ।
गत निर्वाचनमा खड्काले उदयपुरमा ३३ हजार १ सय ४२ मत पाउँदा एमालेको मञ्जु चौधरीले ३२ हजार ५ सय ९५ मत पाउनुभएको थियो ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमाले २१ हजार ६ सय ५२, कांग्रेस २० हजार ७ सय ५७ तथा माओवादी ८ हजार १ सय ७९ मत पाएका छन् ।

मृगेन्द्रकुमार सिंह यादव

महिन्द्रराय यादव बाबुराम भट्टराईसँग निकट भएपछि उपेन्द्रले मन्त्रिपरिषद्मा सरकारका मन्त्री हेरफेर गर्नुभयो ।
महिन्द्ररायलाई हटाएर उपेन्द्र यादवको कोटामा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास मन्त्री बन्नु भएको छ । उहाँ अघिल्लो पटक सप्तरी ४ बाट चुनाव लड्नुभएको थियो ।
कांग्रेसका तेजुलाल चौधरीले २४ हजार १ सय १३ मत ल्याउँदा सिंहले १४ हजार ८ सय ८६ मत पाउनुभएको थियो ।
कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कूलका सञ्चालक समेत रहेका चौधरीले फेरि त्यही क्षेत्रबाट चुनाव लड्ने तरखर गर्नुभएको छ । गठबन्धन हुँदा चौधरी या यादव कसले टिकट पाउँछ, यकिन छैन । तर, सिंह रेड जोनमा रहनुभएको छ ।

मोहम्मद इश्तियाक राई

रेणु यादवलाई विस्थापित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्न पुग्नुभएको राई पश्चिम तराईका जिल्लामा उपेन्द्र यादवका पिल्लर हुनुहुन्छ ।
बाँकेको नेपालगञ्ज क्षेत्रबाट चुनाव जित्दै आउनु भएका राई गठबन्धन भएमा सहज जीत निकाल्न सकिने विश्वासमा रहनु भएको छ । २०७४ सालको निर्वाचनमा राईले बाँके २ बाट २१ हजार ५ सय ७५ मत ल्याउँदा पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत पाउनुभएको थियो ।
यही क्षेत्रबाट राप्रपाका धवल शमशेर जबरा उम्मेदवार बन्दै हुनुहुन्छ । एमालेसँगको तालमेलमा धवल उम्मेदवार बन्नुभयो भने राई रेडजोनमा पर्नुहुनेछ ।
नेपालगञ्जका निवर्तमान मेयर धवल शमशेर स्थानीयमाझ लोकप्रिय रहनुभएको छ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४ र माओवादीले ६ हजार ८ सय मत पाएका थिए ।
कुल योगफलमा गठबन्धन अगाडि देखिए पनि धवल शमशेर उम्मेदवार बन्दा उहाँको व्यक्तिगत भोटले हिसाबकिताब तलमाथि पार्ने स्थिति छ ।

दिलेन्द्रप्रसाद बडू

देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका बडूको निर्वाचन क्षेत्रको टुंगो छैन । स्थानीय तह निर्वाचनमा राम्रो प्रदर्शन गरेको दार्चुला माओवादीले दाबी गरेको छ । सुदूरपश्चिममा कैलालीका २, कञ्चनपुरका १ बाहेक माओवादीको रोजाइ दार्चुला रहेको माओवादीका एक नेता बताउँछन् ।
२०७४ सालको चुनावमा वाम गठबन्धनमा एमालेका गणेशसिंह ठगुन्ना यस क्षेत्रबाट विजयी बन्नु भएको थियो ।
ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाउँदा कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाउनुभएको थियो । स्थानीय तह निर्वाचनमा दार्चुलामा एमालेले २९ हजार ३ सय ९७, कांग्रेसले २१ हजार ५ सय ५४ र माओवादीले ७ हजार ८ सय ८१ मत पाएका छन् ।
दार्चुलाका कुल ९ स्थानीय तहमध्ये एमालेले ५ र माओवादीले ४ वटामा जीत हात पारेका थिए ।

देवेन्द्र पौडेल

देउवा सरकारमा १२ औं वरीयतामा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल २०७४ सालमा पहिलोपटक संसद्मा पुग्नुभएको थियो ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बनेको सरकारमा उहाँ मन्त्री बन्ने मौका पाउनुभयो । वामपन्थी गठबन्धन बन्दा बाग्लुङ २ बाट चुनाव जित्नु भएका पौडेललाई यसपटक कांग्रेसको भर छ । माओवादीको उपस्थिति कमजोर रहेको यो क्षेत्रमा कांग्रेस इमान्दार बनिदिएमा मात्र उहाँले चुनाव जित्नुहुनेछ।
२०७४ सालको निर्वाचनमा पौडेलले २८ हजार ८ सय २७ मत पाउँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाउनुभएको थियो ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा बाग्लुङ २ मा एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७५१, माओवादीले ९ हजार ७५१ र राजमोले ६ हजार ६७८ मत पाएका छन् ।

उमा रेग्मी

देउवा सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहनुभएको रेग्मीको निर्वाचन क्षेत्रको टुंगो छैन । रेग्मीले प्रत्यक्ष चुनाव लडेमा चितवनको कुनै क्षेत्रमा जाने सम्भावना छ ।

शशि श्रेष्ठ

जनमोर्चाको पृष्ठभूमिबाट माओवादीमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको पनि निर्वाचन क्षेत्र यकिन छैन ।
श्रेष्ठका पति लीलामणि पोखरेल विगतमा सिन्धुलीबाट चुनाव लड्नुभएको थियो । पोखरेल एकपटक काठमाडौं– २ मा चुनाव लडेर पराजित हुनु भएको थियो ।
समानुपातिकबाट सांसद हुँदै मन्त्री बन्नुभएको श्रेष्ठ फेरि पनि समानुपातिकमै बस्ने सम्भावना छ ।

महेश्वरजंग गहतराज

देउवा सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका महेश्वरजंग गहतराज २०७४ सालको चुनावमा बाँके १ बाट निर्वाचित हुनुभएको थियो ।
गहतराजले ३१ हजार १ सय ७३ मत प्राप्त गर्दा कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गर्नुभएको थियो ।
बाँके १ मा स्थानीय तह निर्वाचनमा कांग्रेसले २८ हजार १ सय १९, एमाले २५ हजार ३ सय १० र माओवादीले १७ हजार १ सय १० मत प्राप्त गरेका छन् ।
कांग्रेसले साथ दिएको खण्डमा उहाँले जीत निकाल्न सम्भव छ । एकल प्रयासले भने जित्न सक्ने देखिन्न ।

गोविन्दप्रसाद शर्मा

देउवा सरकारको १६ औं वरीयतामा रहनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी कागताली परेर सरकारमा मन्त्री बन्न आउनुभएको हो । गैरसांसद मन्त्री बन्दीको कार्यकाल चुनाव अगावै सकिँदैछ । मन्त्रीबाट हटे पनि उहाँ चुनावमा नभई सर्वोच्च अदालतमा बहसमै फर्किने उहाँलाई चिनेकाहरू बताउँछन् ।
दैलेखका बन्दी राजनीतिक रूपमा माधव नेपाल निकट मानिनु हुन्छ ।

जीवनराम श्रेष्ठ

गत चुनावमा काठमाडौं ८ बाट निर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने कोशिशमा रहनु भएको छ ।
२०७४ सालमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गर्नुभएको थियो ।
चुनावी तालमेल हुँदा नेकपा एसले काठमाडौंमा २ र ८ नम्बर क्षेत्रलाई बटमलाइन बनाएको छ ।
स्थानीय चह चुनावमा यो क्षेत्रमा कांग्रेसले राम्रो मत ल्याएको छ । मन्त्री श्रेष्ठको यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले प्रतिष्पर्धा गर्ने बताउनु भएको छ ।
अघिल्लोपटक श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाउनुभएको थियो ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३ र नेकपा एसले ५ हजार १ सय ४२ मत प्राप्त गरेका थिए ।

मेटमणि चौधरी

रामकुमारी झाँक्रीलाई विस्थापित गरेर शहरी विकास मन्त्री बन्नुभएको चौधरी दाङ– १ बाट चुनाव लड्ने तरखरमा रहनुभएको छ । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको चुनावलाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।
नेकपा एमाले विभाजनका बेला सक्रिय चौधरी नेकपा एसका नेता हुनुहुन्छ । एमालेले यो क्षेत्रबाट गंगा चौधरी सत्वौवालाई उम्मेदवार बनाउने सम्भावना छ ।
२०७४ सालको चुनावमा वाम गठबन्धनका एमाले उम्मेदवार चौधरीले कांग्रेसकका सुशीला चौधरीलाई पराजित गर्नुभएको थियो ।
मेटमणिले ३७ हजार ९ सय ८ मत पाउँदा सुशीलाले २४ हजार ७४ मत प्राप्त गर्नुभएको थियो ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले २९ हजार ७ सय ७५ मत पाउँदा एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २ सय ७६ र नेकपा एसले २ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए ।
थारुबहुल क्षेत्र भएकाले दाङ १ मेटमणिका लागि अनुकूल छ, तर एसको संगठनात्मक भोट निकै कम देखिएको छ । चुनाव जित्नका लागि उहाँलाई कांग्रेस र माओवादीको दरिलो साथ चाहिने देखिन्छ ।

भवानीप्रसाद खापुङ

विरोध खतिवडालाई विस्थापित गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको भवानीप्रसाद खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । वाम गठबन्धनका एमाले उम्मेदवार खापुङले कांग्रेसको सीता गुरुङलाई पराजित गर्नुभएको थियो।
२०७४ सालको चुनावमा खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा कांग्रेसकी सीताले १९ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको थियो । चुनाव हारेपछि सीता जिल्लामै बसेर राजनीति गरिरहनुभएको छ । अहिले पनि कांग्रेसका तर्फबाट उहाँ प्रमुख दाबेदार हुनुहुन्छ ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमालेले २२ हजार ३ सय १२, नेपाली कांग्रेसले २१ हजार ९ सय ११ र माओवादीले ६ सय ८६ मत प्राप्त गरेका छन् । मन्त्री खापुङको पार्टी एसले मात्र ५ सय ४६ मत प्राप्त गरेको थियो ।
एसको मत निकै कम रहेकाले उहाँले टिकट पाउने सम्भावना नै कम देखिन्छ ।

शेरबहादुर कुँवर

देउवा सरकारका तेस्रो गैर सांसद मन्त्री रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवर अछामबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
एमाले नेता भीम रावलको गृहजिल्लाबाट चुनाव लडाउन माधव नेपालले कुँवरलाई मन्त्री बनाउनुभएको थियो । तर, रावल र उहाँको निर्वाचन क्षेत्र भने फरक हो । संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जित्नुभएको कुँवर राष्ट्रिय सभाको सांसद बन्नुभएको थियो । कुँवरले टिकट पाएमा चुनाव जित्नका लागि कांग्रेसको इमान्दार प्रयास र आशीर्वाद बटुल्नुपर्नेछ ।
स्थानीय तह निर्वाचनमा अछामका दुवै क्षेत्रमा नेपाली कांग्रेसले एमालेले भन्दा धेरै मत पाएको छ । भीम रावलको क्षेत्र अछाम १ मा कांग्रेसले १६ हजार ७ सय २८ मत पाउँदा एमालेले १६ हजार ५ सय ६७ मत प्राप्त गरेको छ । माओवादीले ६ हजार ७ सय ९० मत पाउँदा एसले २ हजार ७ सय ५२ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर २ मा कांग्रेसले १९ हजार ३ सय ३९ मत पाउँदा एमालेले १७ हजार ९ सय ८७ मत प्राप्त गरेको छ । माओवादीले ६ हजार ४ सय र एसले २ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।
अछाममा कांग्रेसले ७ पालिका जित्दा एमालेले २ र माओवादीले एकमा चित्त बुझाएका थिए ।

प्रदीप यादव

देउवा सरकारमा वन तथा वातावरण मन्त्री रहेका यादव पर्साको वीरगञ्ज क्षेत्रबाट २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्लादहन भएको थियो । यो क्षेत्रका प्रभावशाली नेता यादवसँग एमालेले भर्खरै वीरगञ्जको मेयरमा पराजित विजय सरावगीलाई उठाउने सम्भावना छ । विगतमा जसपाबाट मेयर जितेका सरावगी चुनावको मुखमा एमाले प्रवेश गर्नुभएको थियो । जसपाले चुनाव जितेको वीरगञ्जमा सरावगीको लज्जास्पद पराजय भएको थियो ।
२०७४ सालको चुनावमा यादवले २१ हजार १ सय ३२ मत ल्याउँदा कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ र एमालेका विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।

उमेश श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री बनेर बस्नुभएको उमेश श्रेष्ठ धनाढ्य मन्त्रीको रूपमा परिचित हुनुहुन्छ ।
२०७४ सालको प्रतिनिधि सभामा समानुपातिकतर्फबाट सांसद बन्नुभएको श्रेष्ठले यसपटक चितवनबाट चुनाव लड्न भूमिका बनाउँदै हुन्छ ।
स्थानीय तह चुनावमा गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई जिताउन फिल्डमा खटिएको समयमा श्रेष्ठले चितवनबाट चुनाव लड्ने बताउनुभएको थियो ।
चितवनबाट चुनाव लडेमा उहाँ २ नम्बर क्षेत्रबाट लड्ने सम्भावना छ । चितवन ३ प्रचण्डलाई छाड्नुपर्ने भएपछि बाँकी २ क्षेत्रमा नेताको व्यवस्थापन गर्न कांग्रेसलाई धौधौ परेको छ । श्रेष्ठ भने सिधै देउवाको भिटो लगाएर टिकट हत्याउने दाउमा हुनुहुन्छ ।
चितवन– २ बाट एमालेका वर्तमान सांसद कृष्णभक्त पोखरेल या देवी ज्ञवालीमध्ये एकले टिकट पाउने सम्भावना छ ।

बोधमायाकुमारी यादव

देउवा मन्त्रिपरिषद्मा २३ औं वरीयतामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बोधमायाकुमारी यादव धनुषाबाट समानुपातिक सांसद हुनुहुन्छ ।
नेताहरूको व्यवस्थापन कठिन भएकाले उहाँले धनुषाबाट प्रत्यक्ष टिकट पाउने सम्भावना कमजोर रहेको नेताहरू बताउँछन् ।
उहाँको प्रयास पुनः समानुपातिकमा दोहोरिनु हुने धनुषाका माओवादी नेता/कार्यकर्ता बताउँछन् ।

हिराचन्द्र केसी

देउवा सरकारको मन्त्रिपरिषद्का २४ औं नम्बरमा रहेका हिराचन्द्र केसी गत चुनावमा दाङ– ३ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । माधव नेपालका विश्वासपात्र केसी अहिले नेकपा एसमा हुनुहुन्छ ।
दाङका तीन क्षेत्रमा सीट बाँडफाँड गर्दा कांग्रेस, माओवादी र एसले एक–एक क्षेत्र पाउने सम्भावना छ । मेटमणिले टिकट पाए केसी प्रदेश सभामा जानु पर्ने नेताहरू बताउँछन् ।
केसीले प्रतिनिधि सभामा टिकट पाए मेटमणि प्रदेश सभामा खुम्चिनु पर्नेछ । यो क्षेत्रबाट एमालेले तुलसीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डे या राष्ट्रिय सभाकी निवर्तमान सदस्य कोमल वलीलाई उठाउने सम्भावना छ ।
विगतको चुनावका केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दा कांग्रेसका दीपक गिरीले ३३ हजार ७ सय ३० मत पाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*