असारे विकासको परिपाटीमा सुधार गर्न खुलालको सुझाव

विश्व अधिकारी
२० आश्विन २०७७, मंगलवार २१:५९

मकवानपुर । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिएका छन् । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा आज (मंगलबार) जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमनका क्रममा प्रमुख खुलालले असारे विकासका कारण समयमै काम सम्पन्न गर्न नसक्दा विभिन्न समस्याहरु आएकाले समयमै योजना कार्यान्वयन गर्न सुझाव दिए ।

जिसस प्रमुख खुलालले पहिलो चौमासिक योजना कार्यान्वयनका लागि पूर्व तयारीको समय भएकाले यो समयमा लागत स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने कार्य पुरा गरेर दोस्रो चौमासिकबाट बजेट कार्यान्वयनमा जान सुझाव दिए । उनले व्यवस्था परिर्वतन भए पनि अवस्था भने अझै परिर्वतन हुन नसकेको भन्दै पहिलेको जस्तै असारे विकासको शैलिलाई परिर्वतन गर्नु जरुरी बताए ।
प्रमुख खुलालले विकासको अवधारणा परिर्वतन गर्दै भौतक विकास मात्र नभई सामाजिक चेतना वृद्दि गर्नतर्फ ध्यान दिन समेत सुझाव दिए ।
उनलेसभ्य समाज निर्माणमा ध्यान दिन, बालमैत्री स्थानीय तह निर्माण गर्न समेत आग्रह गरे । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले जिल्ला सभाबाटै पारित गरिएको र प्रदेश सरकारले समेत बालमैत्री प्रदेश निर्माण गर्ने लक्ष्य लिएको भन्दै बालमैत्रीका ३९ वटा सूचीहरु पूरा गर्ने तर्फ लाग्न सुझाव दिइन् ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जिल्ला समन्वय समितिबाट नियमित अनुगनका लागि आग्रह गरे । उनले नियमित अनुगमनबाट स्थानीय तहलाई पृष्ठपोषण पाईने हँुदा यसको निरन्तरताका लागि आग्रह गरे । उनले गाउँपालिकाले सन्तुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समद्दि प्राप्तिका लागि काम गरेको समेत बताए । अध्यक्ष हुमागाईले चैत्र महिनासम्म सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना बनाइएको जानकारी दिए ।

विभिन्न समस्याहरुका विषयमा मकवानपुरका स्थानीय तहहरुले साझा धारणा बनाएर जानुपर्ने र यसमा जिससलाई सहजीकरण गर्न आग्रह समेत गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले चालु आर्थिक वर्षका लागि ६८ करोड २६ लाख ६३ हजार बजेट विनियोजित भएकोमा हालसम्म करिब १० प्रतिशत बजेट खर्च भएको बताए । उनले चालु आर्थिक वर्षका लागि समयमै बजेट खर्च गर्नका लागि उपभोक्ता समिति गठन गरेर सम्झौताको क्रम समेत सुरु भइसकेकोले समयमै बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ३ र ४ का वडाअध्यक्षले गाउँपालिकामा भौगोलिक विकटताका कारण खानेपानीको समस्या रहेको, गाउँबाट बसाईसराई गर्ने लगायतका समस्या रहेको बताए । यसका लागि गाउँपालिकाले व्यवस्थित कार्ययोजनाका साथ काम गरेको समेत उनले बताए ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, सिता अधिकारीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*