पराजुलीको मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

बकैया दर्पण संवाददाता
३१ असार २०८०, आईतवार ११:३१

मकवानपुर । पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा सङ्ग्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ ।

किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए ।

साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । ‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित भइरहेका छन् । त्यही क्षेत्रमा रहेका पुरुषको पीडा पनि कम छैन । तर, कथाकारले महिलाका मात्रै समस्यालाई कथामा उतार्नु भएको छ ।’ पौडेलले भने ।

त्यस्तै साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथा नारीवादी भएको बताइन् । कथाका अधिकांश मुख्य पात्र नारी भएको र कथामा नारीले विद्रोह गरेको कुरालाई मार्मिक ढंगले उतारिएको उनले बताइन् । कथाकारले प्रकृति र मानिसको जीवनलाई बिम्बमा उतारेका छन् । शर्माले अगाडि भनिन्, कथामा समसामयिक प्रसङ्गको व्याख्या भए पनि कौतुहलता भने आउन सकेको छैन ।

कार्यक्रममा मन्तव्य राख्दै कवि सामना पहाडले एकजना पुरुष लेखकले महिलाको संवेदनालाई मिहिनेत गरेर कथामा उतारेको भन्दै प्रसंसा गरिन् ।

कथाकार पराजुलीले सङ्ग्रहमा भुइँमान्छेका कथालाई समावेश गरेको बताए । ‘मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने सिमान्तकृत चेपाङ समुदायको जनजीवनलाई कथामा उतारेको छु’ पराजुलीले भने । आफू पत्रकारिताको विद्यार्थी भएको र खोजमुलक सामग्री संकलन गर्ने क्रममा देखेका भोगेका कुरालाई कथामा उतारेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यले मोम्चो शब्दले चेपाङ समुदायका महिलालाई सम्बोधन गर्ने भएकोले यो पुस्तकले चेपाङ समुदायलाई सम्मान गरेको बताए । गाउँमा कथालाई किताबमा उतार्नु सानो काम नभएको भन्दै आचार्यले लेखक पराजुलीको साहसलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले कथामा आधुनिक आमाहरूका चरित्रलाई उजागर गरिएको बताए । सामान्य भाषागत त्रुटि र वर्णविन्यासले पाठकलाई कहिँकतै बिझाउने निखिलले बताए । कार्यक्रमलाई किताबघरका सञ्चालक साहित्यकार छवि अनित्यले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*