झरनाको साहित्यिक पदयात्रा हेटौँडाबाट बकैयाको लटारम्भेश्वरसम्म

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार ११:०१

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा २९० औँ साहित्य शृङ्खलाका अवसरमा मकवानपुरको बकैया–१२ ठिङ्गनस्थित महाभारत पर्वत श्रृङ्खलामा रहेको लटारम्भेश्वर मन्दिरसम्मको करिब १८ किलोमिटरको पदयात्रा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पदयात्रामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता भएको सो यात्रामा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, बकैयाका वडाका अध्यक्षहरू ज्ञानेन्द्र बजगाई, गोपालबहादुर न्यासुर, टंकध्वलज लोप्चन, बिष्णु नेगी र लक्ष्मी जिम्बा, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी र दीपकुमारी बिश्वकर्मा, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल, नेपाली भाषा शिक्षक समितिका अध्यक्ष केशव सञ्जेल, गजल मञ्च मकवानपुरका अध्यक्ष  केशव समर्पण, नेपाली लेखक सङ्घका अध्यक्ष छवि अनित्य,  मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबि बर्तौला, गजल मञ्चका सचिव हरि पौड्याल, प्रलेस मकवानपुर उपाध्यक्ष बिशाल अधिकारी, हेटौँडा क्याम्पसका सहायक प्रमुख देविराम लामा, सिस्नुपानी मकवानपुरका सम्प्रस पौड्याल, एस लामा, झरना साहित्यिक परिवार मकवानपुर कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, विशिष्ट आजीवन सदस्यहरू, आजीवन सदस्यहरू, बकैया गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू तथा स्थानीय व्यक्तिहरू गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो ।

बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर न्यासुर तथा वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँको विशेष आर्थिक व्यवस्थापनमा यो पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

पदयात्राबाट फर्कने क्रममा बीच बाटोमा झरना साहित्यिक परिवार मकवानपुरको २९० औँ साहित्य शृङ्खला पनि आयोजना गरिएको छ ‌। कार्यक्रममा साहित्यिक रचनाहरू वाचन गरिनुका साथै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, झरना साहित्यिक परिवार मकवानपुरका पूर्व अध्यक्ष उद्धव प्रसाद सापकोटा, जनार्दन खनाललगायतले आफ्ना महत्वपूर्ण भनाईहरू राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले आफुले यो क्षेत्रमा पदमार्ग विकास गर्ने प्रतिबद्धता गर्दै तुरुन्तै डिपिआर बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । तत्काल यो पदमार्गको काम शुरु हुने बताउनुभयो ।

मकवानपुरको बकैया १२ स्थित पर्ने लटारम्भेश्वर मन्दिर पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका विभिन्न ठाउँबाट धार्मिक आस्था, प्राकृतिक आनन्द, तथा साहसिक यात्राका लागि यस ठाउँमा मानिसहरूको आवतजावत बढ्दै गरेको पाइन्छ । केही वर्षअघिसम्म खासै चर्चामा नआएको यो मनोरम स्थलमा हाल आएर दिनहुँ सयौँ मानिसहरूले भ्रमण गर्ने गरेको स्थानीयको भनाइ छ ।

संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षताका भएको कार्यक्रममा निलहरी ढुङ्गेलले स्वागत गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*