सकियो दुई दिने बकैया कला–साहित्य, ९ स्रष्टा सम्मानित

बकैया दर्पण संवाददाता
१० फाल्गुन २०७९, बुधबार १०:१९

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार, मकवानपुरको ३० औँ बार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खला अन्र्तगत आयोजना भएको दुई दिने बकैया कला–साहित्य महोत्सव सकिएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना गरिएको महोत्सवमा स्रष्टा, सेवी, कलाकारलाई सम्मान गर्नुका साथै नवप्रतिभालाई मञ्च उपलब्ध गराई प्रोत्साहित गर्नुका साथै विविध विषयमा बहस आयोजना गरिएको थियो ।

बकैया कला–साहित्य महोत्सवको अवसरमा मंगलबार साहित्यकार, पत्रकार, कलाकारलाई सम्मान गरिएको छ । नगद ५ हजार ५ सय रुपैयाँसहित नवप्रतिभा सम्मान स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । यस्तै कलाकारिता सम्मानबाट चित्रकार ऋषि केबी, साहित्य सेवी सम्मानबाट कृष्णप्रसाद चौलागाई, सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, युवा प्रतिभा सम्मानबाट सिन्धुलीका अमला अधिकारी सम्मानित हुनुभएको छ । सबैलाई जनही ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै ११ हजार १ सय ११ रुपैयाँसहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार भानुभक्त आचार्य, २१ हजार १ सय २१ रुपैयाँसहित सुर्खेतका प्रा. डा. जितेन्द्रदेव गिरीलाई होमनाथ–टिकामाया प्रतिभा सम्मान प्रदान गरिएको छ । झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको थियो ।

यसैबीच बकैया कला–साहित्य महोत्सवमा उत्कृष्ट ४ कविता र उत्कृष्ट ५ चित्रकारलाई पुरस्कृत गरिएको छ । दुईदिवसीय महोत्सवको पहिलो दिन सोमबार विद्यालय तहका विद्यार्थीबीच कविता र चित्रकला प्रतियोगिता गरिएको थियो । कवितातर्फ जनक माविका रेणु घले, महेन्द्र माविका सन्तोष विक, प्रभात माविका सुजिता परियार र बुद्ध माविका सुमिना दाहालका कविता उत्कृष्ट घोषित गरिएको छ । कविता प्रतियोगितामा १८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यस्तै चित्रकला प्रतियोगितामा सहभागी ६२ जना मध्ये जनक माविका मुकेश घलान, माटोकोरी आधारभूत विद्यालयका विनिता लिम्बु, कर्मप्राप्ति माविका आयुशा शंकर, बुद्ध माविका सिर्जना कुमारी ठाकुर र सुमिना बल उत्कृष्ट घोषित भएका छन् । कविता प्रतियोगिता र चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई जनही पाँचसय रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

महोत्सवको अवसरमा झरनाका निवर्तमान अध्यक्ष दीपक गौतम, मेहन्द्र माविमा गठन गरिएको बाल क्लब र प्रभाव माविका शिक्षक कुमार स्याङ्बोलाई पनि सम्मान गरेको छ । महोत्सवकै अवसरमा रचना वाचन, विविध विषयमा बहसका कार्यक्रम भएका छन् । बिभिन्न सत्रहरुमा गायत्री रुपाखेती, विश्व राई, दीपक गौतमलगायतले कार्यक्रमको सहजीकरण गरेका थिए । विद्यार्थीले गायन तथा नृत्य कला प्रस्तुत गरेका थिए । महोत्सवको अवसरमा झरनाको ३८ औँ र ३९ औँ अंक गरी दुई अंक पत्रिका पनि लोकार्पण गरिएको थियो ।

महोत्सवअन्तर्गत दोस्रो दिनको कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्वअध्यक्ष उद्धव सापकोटा, बकैया गाउँपालिकाका उपाध्यक्ष, भक्तबहादुर खत्री, साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । बकैया गाउँपालिका–७, भिरकोटस्थित जनक मावि परिसरमा सोमबार र मंगलबार दुईदिन बकैया साहित्य–कला महोत्सव भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*