सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत

बकैया दर्पण संवाददाता
१ फाल्गुन २०७९, सोमबार २०:५८

मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत भएकाे छ । ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले जीत हात पार्दै अन्तिम आठमा स्थान बनाएकाे हाे ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा एनआरटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै वीरगञ्ज अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जको तर्फबाट विवेक चौधरीले खेलकाे २९ औं मिनेट र कृपा चौधरीले खेलकाे ५० औं र ७० औं मिनेटमा गाेल गरेका थिए । त्यस्तै एनआरटीको तर्फबाट दिनेश आले र ललिनुन जामाले एक/एक गोल गरेका थिए । दिनेशले खेलकाे २३ र ललिनुनले खेलकाे ७८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा चौधरी घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे । प्रतियाेगिता अन्तर्गत चौथाे खेल मंगलबार हिमालयन शेर्पा काठमाडाै‌ र बागमती युवा क्लव सर्लाही बीच खेल हुने आयाेजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएकाे छ ।

गत माघ २८ गतेबाट सुरु भइ फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*