झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने

बकैया दर्पण संवाददाता
१ फाल्गुन २०७९, सोमबार २०:५२

मकवानपुर । मकवानपुरकाे साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ काे अवसरमा सष्ट्रा सम्मान गर्न लागिएकाे हाे ।

झरना साहित्य परिवारले हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानकाे जानकारी गराएकाे हाे । यस बर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान २०७९ बाट डा. जीवेन्द्र देव गिरी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी साहित्यको मुक्तक विधातर्फ सरु भक्तलाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेकाे शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएकाे हाे । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेकाे झरना साहित्य परिवारले जनाएकाे हाे ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नवराज शर्मालाई बाबुलाल-भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् । यसैगरी पत्रकारितकाे माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएकाे भन्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो । उक्त सम्मानकाे राशी नगद ११ हजार १ सय ११ रहेकाे छ । उक्त पुरस्कार गौतमको माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेकाे खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेकाे सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेकाे सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेकाे खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । याे पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव उपासकले बताए । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने जनक माध्यामिक विद्यालय भीरकाेट बकैयामा हुने सचिव उपासकले जानकारी दिए ।

उनका अनुसार पहिलाे दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी बकैया बिशेष रचना वाचन पनि पहिलाे दिन नै हुनेछ । यसैगरी कला साहित्य महाेत्सवकाे दाेस्राे दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहश, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*