फागुन ८ र ९ गते बकैया कला साहित्य महाेत्सव हुने

१० जना स्रस्टा सम्मानित हुदै
बकैया दर्पण संवाददाता
१ फाल्गुन २०७९, सोमबार २०:३७

मकवानपुर । मकवानपुरकाे साहित्यिक क्षेत्रमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव-२०७९ फागुन ८ र ९ गते जनक मावि भिरकाेटमा गर्ने भएको छ । झरनाले उक्त महाेत्सवका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

झरना साहित्य परिवार, मकवानपुरले हेटौडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानकाे जानकारी गराएकाे हाे । यस बर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान-२०७९ बाट डा. जीवेन्द्र देव गिरी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी, साहित्यको मुक्तक विधातर्फ सरुभक्तलाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेकाे शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मान-२०७९ बाट सम्मानित गरिने भएकाे हाे । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेकाे झरना साहित्यिक परिवारले जनाएकाे हाे ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नवराज शर्मालाई बाबुलाल-भोजमाया स्मृति साहित्य सम्मान-२०७९ प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् । यसैगरी पत्रकारितकाे माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएकाे भन्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मान गर्ने भएको हो । उक्त सम्मानकाे राशी नगद ११ हजार १ सय ११ रहेकाे छ । उक्त पुरस्कार गौतमको माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेकाे खडानन्द–मनमाया प्रतिभा सम्मान-२०७९ बाट अमला अधिकारी, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेकाे सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान-२०७९ बाट अनिता न्यौपाने, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेकाे सञ्जीवनी बुटी साहित्य सेवा सम्मान-२०७९ बाट कृष्ण प्रसाद चौँलागाई र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेकाे खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान-२०७९ बाट ऋषि केबीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै  ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार-२०७९ कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । याे पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव उपासकले बताए । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने जनक माध्यामिक विद्यालय भीरकाेट बकैयामा हुने सचिव उपासकले जानकारी दिए ।

उनका अनुसार पहिलाे दिन रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया विशेष रचना वाचन लगायत कार्यक्रम हुनेछ । यसैगरी, कला साहित्य महाेत्सवकाे दाेस्राे दिन नवपुस्ता केन्द्रित रचना वाचन, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*