बागमती प्रदेशमा एउटै मन्त्रालय दुई वटा भाडाको घरमा

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार १०:१८

मकवानपुर । बागमती प्रदेश सरकारको एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको छ। प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको हो। गत माघ १० गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन १४ वटा मन्त्रालयलाई कटौती गर्दै ११ वटामा झार्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्तारोहण गरेलगत्तै मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए। उनले प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मन्त्रालयको संख्या निर्धारण कार्यदल बनाएका थिए। कार्यदलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कटौती गर्न सरकारलाई सुझाव दिएको थियो।

कार्यदलको सुझावअनुसार सरकारले यी ३ वटा मन्त्रालय गाभेर एउटै मन्त्रालय बनाएको थियो। सरकारले ३ वटा मन्त्रालयलाई गाभेर पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय बनाएको दुई साताभन्दा बढी हुँदा मन्त्रालय गाभिएर एकै स्थानमा हुनुपर्नेमा दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको छ।

करिब ५ सय मिटरको दूरीमा एउटै मन्त्रालय दुईवटा भवनबाट सञ्चालन भइरहेको छ। हेटौंडा–४ हुप्राचौरमा तत्कालीन भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय रहेको भवनमा पुरानो मन्त्रालयको बोर्ड हटाएर अहिले ३ वटा मन्त्रालय मिलेर बनेको बोर्ड राखिएको छ। दुवै ठाउँमा बसेर कर्मचारीहरू काम गरिरहेका छन्। यो विषयमा उनीहरू आफै अनभिज्ञ रहेको बताउँछन्।

बिहीबार तत्कालीन संस्कृति तथा पर्यटन मन्त्रालय रहेको भवनबाट मन्त्रालयका सचिव मदन कोइराला निस्किरहेका थिए। उनलाई एउटै मन्त्रालय दुईतिर किन राखियो भन्ने प्रश्न गर्दा शुरुमा उनले दुईतिर राखेको कुरा अस्वीकार गरे।

‘अहिले ३ वटा मन्त्रालय गाभिएपछि बनेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको भवन यही हो। अन्तबाट मन्त्रालय सञ्चालन भएको छैन’, उनले भने।

पछि पुरानो सहकारी मन्त्रालय रहेको भवनमा पनि सोही मन्त्रालय सञ्चालन भइरहेको कुरालाई उनले झुक्किएको भन्दै स्वीकार गरे। उनले मन्त्रालय कताबाट सञ्चालन गर्ने भन्ने विषयमा कर्मचारीहरू झुक्किएको हुनसक्ने भन्दै हटाउन लगाउने बताए।

उनको प्रतिक्रिया सुनेर सोही मन्त्रालयका कर्मचारीहरू भने खित्का छोडेर हाँसिरहेका थिए। कर्मचारीहरूले गम्भीर त्रुटि भएको भन्दै स्वीकार गरे।

तत्कालीन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवाली मन्त्रालय गाभिएपछि कहाँबाट सञ्चालन हुने भन्ने विषय स्पष्ट नहुँदा दुईतिरबाट सञ्चालन हुन पुगेको हुनसक्ने बताउँछन्। ‘तीनवटा मन्त्रालय एकापसमा गाभिएपछि कहाँबाट सञ्चालन हुने भन्ने भएर झुक्किएको हुनसक्छ। हामी तत्काल यहाँबाट मन्त्रालयको बोर्ड हटाउँछौँ’, उनले भने।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव निरौलाले दुई ठाउँबाट एउटै मन्त्रालय सञ्चालन भइरहेको विषयमा आफूलाई जानकारी नभएको बताए। उनले एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन गर्न नमिल्ने भन्दै एउटा मन्त्रालय हटाइने बताए। (थाहा खवरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*