मकवानपुर गोल्डकप माघ २९ गतेबाट : विजेताले १५ लाख पाउने, बेस्ट प्लेयरले बुलेट बाइक

बकैया दर्पण संवाददाता
९ माघ २०७९, सोमबार २०:४७

मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०७९ माघ अन्तिम साताबाट सुरु हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २९ बाट खेल सुरु हुने जनाएको छ। खेल हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ।

प्रतियोगिताको यस संस्करणमा देशका चर्चितसहित १२ वटा फुटबल क्लबको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक मकवानपुरसहित त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ क्बल, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, मछिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जावलाखेल युथ क्लब, एभिनियर एफसी क्यामरुनको सहभागिता रहने जनाएको छ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई करिब ६ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ। तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरेको थियो। विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*