पाकिस्तानमा बाढीका कारण करिब १,००० जनाको मृत्यु

बकैया दर्पण संवाददाता
११ भाद्र २०७९, शनिबार १५:२८

एजेन्सी । बाढीका कारण पाकिस्तानका एक सय भन्दा बढी जिल्लामा जनजीवन प्रभावित भएको छ । पाकिस्तानले विनाशकारी बाढीलाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गरेको छ। लगातारको वर्षाका कारण आएको बाढीका कारण करिब एक हजार मानिसको ज्यान जानुका साथै तीन लाखभन्दा बढी विस्थापित भएका छन् । बाढीका कारण ठूलोमात्रामा जनधनको क्षति भएपछि सरकारले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा गएको जुन मध्ययता बाढीका कारण कम्तीमा ९३७ जनाको मृत्यु भएको छ। त्यसमा ३४३ जना बालबालिकासमेत रहेको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीका कारण सबैभन्दा बढी दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त प्रभावित भएको छ। त्यहाँ सन् २०१० मा गएको विनाशकारी बाढीजस्तै अहिलेको अवस्था बनेको छ । यो वर्षको बाढीका कारण पाकिस्तानमा १३ सय ४३ जना घाइते भएका छन्। ३१ किलोमिटर बाटो क्षतिग्रस्त भएको र १४५ पुल भत्किएको पाकिस्तानको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। सर्वसाधारणका पाँच लाख ८१ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

बाढीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी बलुचिस्तान र सिन्ध प्रान्तका रहेका छन् । जलवायु परिवर्तनका कारण मौसमी विपदलाई झन् सघन बनाएको विज्ञहरूले बताएका छन्। पाकिस्तानमा हालका बाढीहरू जलवायुजन्य विपद रहेको उनीहरूले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*