आचारसंहिता विपरित नयाँ दिल्लीमा बनेका २ वटा ४० तले टावर भत्काउने तयारी

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १२:१६

एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ ।

नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी गरिएको हो । सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएसँगै प्रशासनले भवन भत्काउने सबै व्यवस्था मिलाएको भारतीय संचार माध्यमले जनाएका छन् । टावर भत्काउन ३७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान गरिसकिएको छ । एपेक्स र सियान नाम दिइएका ती दुवै टावर करिब १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने छ । घना बस्ती नजिकै यति ठूलो विष्फोट गराउनु निकै चुनौती हुने भएकाले आइतबार टावर भत्काउनुलाई विश्वकै बिरलै घटना भनिएको छ ।

यी टावर आसपास बस्ने ७ हजार मानिसलाई आइतबार बिहानसम्म अन्यत्रै सारिने भएकाे छ । टावर भत्काएकाे ५ घण्टापछि मात्रै उनीहरुलाई घर फर्कन दिइने भएकाे छ । त्यसैगरी त्यस क्षेत्रका घरपालुवा जनावर तथा अन्य जीवजन्तुलाई पनि निकै टाढा पुर्याएर राखिने भएको छ । टावर भत्काउदा करिब १ हजार फिट माथिसम्म धुलोको मुश्लो जाने भएकाले विमानस्थल तथा वायुसेनालाई पूर्वसतर्कता अपनाउन भनिएको छ ।

टावर भत्काउनका लागि तीन वटा देशका विज्ञ इञ्जिनियरहरुको टिम खटिरहेको छ । भवन भत्काउँदा ४ रेक्टर स्केलको भूकम्प गए बराबरको कम्पन आउने छ । तर पनि टावर भत्काउन पूर्ण रुपमा सुरक्षित हुने वरिष्ठ इञ्जिनियर मयुर मेहताले बताएका छन् । टावर भत्काउने क्रममा तीन जना विष्फोटक र तीन जना प्रहरीलाई मात्रै त्यस साइटमा उपस्थित हुने अनुमति दिइएको छ । यी दुई टावर भत्काएपछि ३० हजार टन भग्नावशेष थुप्रिने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*