रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने राष्ट्रपति जेलेन्स्कीकाे चेतावनी

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार १०:५५

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनका क्रममा आणविक केन्द्रबाट वा केन्द्रतर्फ आक्रमण गर्नेहरु युक्रेनको ‘विशेष निशाना’ बन्ने बताउनुभएको हो । उहाँले मस्कोले ऊर्जा केन्द्रलाई रुसी सैनिकको बेसक्याम्प बनाएको आरोप समेत लगाउनुभएकाे छ । उहाँले रुसले केन्द्रलाई ‘परमाणु ब्ल्याकमेल’ का रुपमा प्रयोग गरेको बताउनुभयो । रुसले गत मार्चमा सोही परमाणु केन्द्र कब्जामा लिएको थियो । युक्रेनको दक्षिणी शहर निकोपोलमा रहेको परमाणु ऊर्जा केन्द्र रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । यो हप्ताको सुरुमा परमाणु केन्द्रमा गोलाबारी भएको थियो । युक्रेन र रुसले त्यसका लागि एक-अर्कालाई आरोप समेत लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*