अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १०:४२

एजेन्सी । चीनको दबाबकाबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गर्नुभएको छ । भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंशा गर्नुभयो।
त्यसअघि उहाँले ताइवानको संसदमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमध्ये पर्ने उल्लेख गर्नुभएको छ । उहाँले अमेरिका र ताइवानबीचको संसदीय आदानप्रदान बढाउन चाहेको पनि बताउनुभयो । पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने समेत बताउनुभएको छ । पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची–चाङले स्वागत गर्नुभएको थियो ।

यसैबीच, चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसीको ताइवान भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको छ । उहाँले चीन चुप नबस्ने पनि बताएको अन्तर्राष्ट्रिय संचारमाध्यामले उल्लेख गर्नुभएको छ । पेलोसीलाई स्वागत गरेको ताइवानमाथि चीनले संभावित बल प्रयोग गर्न सक्ने भन्दै सतर्कता अपनाइएको छ । ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् गएराति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुग्नुभएको हो । उहाँको भ्रमणलाई ह्वाइटहाउसले समर्थन गरेको छैन । तर उहाँको भ्रमण दशकौंमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

ताइवान एउटा स्वशाशित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ । यसैबीच चीनले थप ताइवानी उत्पादनलाई प्रतिबन्ध लगाएको छ । पेलोसीको भ्रमण लगत्तै चीनले ताइवानी सामान र उत्पादनहरू प्रतिबन्ध लगाएको हो । चीनको वाणिज्य मन्त्रालयले ताइवानबाट सिट्रस फल, दुई प्रकारका माछा र बालुवा आयातमा तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । यसअघि हिजो बिस्कुट र कन्फेक्सनरीसहित अन्य सामान आयातमा प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*