श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

बकैया दर्पण संवाददाता
३१ असार २०७९, शुक्रबार १०:१९

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा भएको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ८४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सास फेर्न गाह्रो भएर एक २६ वर्षीय युवकको मृत्यु भएको हो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएपछि उनको राजीनामा दिन माग गर्दै थप प्रदर्शन चर्किएको हो ।

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले कब्जा जमाएर बसेको सरकारी भवनहरू फिर्ता लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रपति भवन, संसद भवन र प्रधानमन्त्री कार्यालयजस्ता सरकारी सस्थान प्रदर्शनकारीबाट छुटाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । यसैबीच, श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर गएका छन् । परिवारका सदस्य र निजी सुरक्षाकर्मीसहित साउदी एयरको विमानबाट सिंगापुरतर्फ गएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*