श्रीलङ्काकाे नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १०:१०

एजेन्सी । सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताउनुभएको छ ।

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौँ मानिसहरूले आक्रमण गरेपछि त्यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो । तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भीडन्त भएको रिपोर्टहरू आएका छन् ।

श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यसपटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताउनुभएको छ ।

चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा समेत निलम्बित गरिएको छ । आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*