चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतले रच्यो इतिहास

भारतलाई विश्वभरबाट बधाई
बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १३:०७

एजेन्सी । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो ।

योसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

गएको जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान–३, ४० दिनको लामो यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेको हो ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र ‘मिसनु चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेर इतिहास बनेकै दिन हिजो सम्मेलनमा मोदीको यो प्रस्ताव आएको हो ।

दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा १५औँ ब्रिक्स शिखर सम्मेलनमा मोदीले सम्बोधन गर्नुभयो । भारतको चन्द्रयान–तीन चन्द्रमामा पुग्दा भिडियोमार्फत् उहाँले दक्षिण अफ्रिकाबाटै जोडिएर सम्बोधन गर्नुभएको थियो । चन्द्रयान मिसन भारतको सफल भएपछि अहिले विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।

भारतका विभिन्न सहरमा उत्सव भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*