डलर संकटको अन्त्य भएको श्रीलंकाको घोषणा

बकैया दर्पण संवाददाता
७ चैत्र २०७९, मंगलवार १४:३१

एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान भएको बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै गभर्नर विरासिंघेले डलर संकटको अन्त्य भएको बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ । करिब एक वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बेलआउट प्याकेज स्वीकृत गरेकोमा आईएमएफलाई धन्यवाद दिनुभएको छ ।

श्रीलंकाका विदेशमन्त्री अली साबरीले सरकारी कम्पनीहरूको पुनर्संरचना र राष्ट्रिय वायुसेवाको निजीकरण गरेर थप रकम जुटाइने बताउनुभएको छ ।

सन् २०२२ मा दक्षिण एसियाली मुलुक श्रीलंका गम्भीर आर्थिक संकटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग वार्ता सुरू गरेको थियो । सञ्चितिको अभाव र समस्याग्रस्त अर्थतन्त्रको कारण एक वर्षअघि १२ अप्रिल २०२२ मा श्रीलंकाले ५० अर्बभन्दा बढी वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको थियो ।

श्रीलंकाको लागि ठूलो ऋण लगानी गरेको चीनले ऋण तिर्नको लागि पुनःसंरचना गर्ने भएपछि आइएमएफले पनि ऋण प्रदान गर्ने सहमति जनाएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*