टर्की र सिरिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्या ८ हजार नजिक

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ०९:३९

एजेन्सी । टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ७ हजार ८ सय नाघेको छ ।

सिरियामा मात्रै १९ सय जना भन्दा बढीको मृत्यु भएको भएको हाे। भग्नावशेषमा हजारौं मानिसहरू च्यापिएकाले मृतकको संख्या बढ्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्प गए लगत्तै टर्कीमा ३ महिने संकटकाल लागू गरिएको छ । भूकम्पको चपेटामा परेको टर्कीका लागि विश्वका धेरै राष्ट्रले आर्थिक सहयोग गरिरहेका छन् ।

चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। आपत्कालीन सहायता अन्तर्गत उक्त रकम टर्कीलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रस सोसाइटीले टर्की र सिरियालाई २ लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्की र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको जनाएकाे छ ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टर्की र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए। भूकम्प प्रभावित टर्कीलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई वटा विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित बुधबार साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्की पठाइने रक्षा अधिकारीहरूले बताएका छन् ।

आंकारास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका लागि ८५ सदस्यीय टोली टर्की पठाउने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न १ सय भन्दा बढी रुसी उद्धारकर्ता टर्की पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो । त्यसैगरी संयुक्त राष्ट्रसंघका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्की पुगेका छन् । विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । यसैबीच, टर्कीले ७ दिने शोक घोषणा गर्दै उद्धार र राहत कार्यमा सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेको छ।

भूकम्पमा परी मृत्यु हुनेको शव सडकमै राख्न थालिएको छ । उद्धार कार्यलाई तीव्रता दिनका लागि मृत्यु भएकाहरुको शव व्यवस्थापन पछि गरिने टर्की सरकारले निर्णय गर्दै मृत्यु हुनेहरुको शव सडकमै राख्न थालिएको हो । संयुक्त राष्ट्रसंघले भूकम्पमा मृत्यु हुुनेमा बालबालिकाको संख्या अत्यधिक रहेको जनाएकाे छ । टर्कीका राष्ट्रपति रेसेप तैयपले प्रभावित १० प्रान्तमा ३ महिने आपतकाल घोषणा गर्नुभएको छ ।

प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यसैबीच टर्कीलाई हालसम्म ७० राष्ट्रहरुले सहायता पठाइसकेका छन् । अन्य राष्ट्रहरुले सहयोगको घोषणा गरिसकेका छन् । यता भग्नावशेषम च्यापिएकाहरुको खोजीकार्यमा परिवारजन नै लागि परेका छन् । टर्कीमा तापक्रम घट्ने क्रम जारी रहेकै बेला आएको विनाशकारी भूकम्पका कारण प्रभावितहरुको बिचल्ली भएको छ ।

उनीहरुलाई राखिएको स्थान चिसो भएका कारण कतिपय बिरामी पर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*