डा गिरीका दर्जन कविताको प्रस्तुति

काठमाडौं । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ६७औँ शृङ्खलामा आज साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरीका एक दर्जन कविताको प्रस्तुति भएको छ ।
स्रष्टाहरूलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शृङ्खला कोभिड–१९ का कारण केही वर्ष भर्चुअलरूपमा सम्पन्न भएकामा गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा आएको हो ।
नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ६७औँ शृङ्खलामा आज साहित्यकार प्रा डा जीवेन्द्रदेव संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौँ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो ।
उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । विसं २००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरीले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापन, लोकसाहित्यको अनुसन्धान, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।
डा गिरीले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जलि त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका अत्यन्त प्रखर कविता वाचन गर्नुभयो भने सहयोगी कवि नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बालकविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देवु लुइँटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारू भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरीमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनाका साथै रुप र विचारका पक्षमा उहाँका कृतिहरू पठनीय भएको बताउनुभयो ।
नेता पन्तले भन्नुभयो, “कवितामा चाहिँ विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दोष भएजस्तै बालसाहित्य पनि निर्दोष हुनुपर्छ । आज वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।”
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुसी व्यक्त गर्दै डा गिरीहरूको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सातवटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।
समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने जनाउँदै कवितामा सहरिया जीवनको पनि चित्रण गरिएता पनि नेपाली ग्राम्य जीवन बढी सशक्तरूपमा चित्रण गरिएको बताउनुभयो ।
सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशशगतरूपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरीको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो । सङ्घका उपाध्यक्ष रमेश पोखरेलले आगामी महिनाको ६८औँ शृङ्खलामा चितवनमा रहेर साहित्यमा सक्रिय किसान प्रेमीलाई प्रस्तुत गरिने जानकारी गराउनुभयो ।
सङ्घले सो शृङ्खला सञ्चालनका लागि यसअघि तत्कालीन कोषाध्यक्ष यशोदा अधिकारीको संयोजकत्वमा डा हरिप्रसाद सिलवाल र देवु लुइँटेल सदस्य रहेको समिति गठन गरेको थियो । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष प्रेमनाथ अधिकारीसहित पदाधिकारीलाई बधाई र शुभकामना दिइएको थियो ।