मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल शुक्रबारबाट

मकवानपुर: मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बताउनुभएको छ । सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभै महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको उहाँको भनाई छ ।
बैशाख १९ गतेदेखि हेटौंडा-६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र पाँचवटा जिल्ला क्लबहरूले सहभागिता रहने छ ।
प्रतियोगितामा विभागीय टोलीहरू सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन् भने आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी आठवटा क्लबले सहभागिता जनाउने छन् । प्रतियोगिताको खेल तालिका केही तयारीपछि सार्वजनिक गरिने अध्यक्ष लामाले बताउनुभयो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव छवि सुवेदीले बताउनुभयो । थप स्पोन्सर पाएमा पुरस्कार राशी बढाउने संघको तयारी रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेलाई १०-१० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, प्रतियोगिताका संयोजक प्रताव विष्ट र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान लगायतको उपस्तिथि रहेको थियो ।