मनहरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार राती ८ बजेर ३५ बजेको समयमा मनहरी-७, स्थित पुर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेको एक महिलाको मृत्युु भएको हो ।
मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस मोटरसाइकलले अन्दाजी ६०-६१ वर्षीय महिलाले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
दुर्घटना भएको भन्ने खब्र प्राप्त हुनासाथ घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले घाइतेलाई उद्दार गरी उपचारको लागि मनहरी अस्पतालमा पठाएर थप उपचारको लागि हेटौँडा अस्पताल पठाइएकोमा राती ९ बजेर ४२ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।
घटना लगत्तै मोटरसाइकल चालक फरार भएको थियो ।बमोटरसाइकललाई खोजतलाश गर्ने क्रममा राती ९:३० बजे मोटरसाइकल चालक मकवानपुर मनहरी-६ स्थित प्रतापुरका ३२ वर्षीय मन्शु गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।