मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल सुरु

बकैया दर्पण संवाददाता
१९ बैशाख २०८२, शुक्रबार २२:०७

मकवानपुर: हेटौंडामा शुक्रबारबाट सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो हाफको १० औँ मिनेटमा र मकवानपुरकी सजिना स्याङ्तनले दोस्रो हाफको अतिरिक्त समयको ६३ औं मिनेटमा गोल गरिन्। खेल ढिलो सुरु हुन पुगेपछि ६० मिनेटको खेल खेलाइएको हो ।

टाइब्रेकरमा चितवनको लागि भावना क्षेत्री, अस्मिता चौधरी,
सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरिन्।

मकवानपुरको लागि टाइब्रेकरमा सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले गोल गरिन् भने अनु राईको प्रहार बाहिरियो । खेलको म्यान अफ द म्याच चितवनकी अनिता गुरुङ घोषित भइन्। उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। जितसँगै चितवन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक मकवानपुर बाहिरिएको छ । अब चितवनले फाइनल प्रवेशका लागि बैशाख २३ गते नेपाल पुलिस क्लब र रौतहटबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सरु भएको प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो । बैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोली र पाँचवटा जिल्ला क्लबहरूले सहभागिता रहको छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*