बैशाख १८ देखि कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर: बैशाख १८ देखि कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द हुने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने जनाएको हो ।
सडक निर्माण कार्य चलिरहेकोले १५ दिन बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने सूचनामा उल्लेख छ । सूचना अनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको छ ।
ठिंगन–बगुवा सडक खण्ड अन्तर्गत गंगटे नजिकैको भर्याङ डाँडामा सडकको चौडाइ विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म (१५ दिन) उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो ।
सो अवधिमा दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकोले सो अवधिमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।