बागमती प्रदेश सरकारद्वारा पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा, मकवानपुरको कैलाश

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार ११:२२

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ स्थानीय तहमध्ये मानव सूचकाङ्कका दृष्टिले सबैभन्दा पछाडि भएका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकिएको हो ।

पिछडिएको क्षेत्र तोकेका पालिकामा धादिङको रुवीभ्याली गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुलीको घ्याङखोला गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका र मकवानपुरको कैलाश गाउँपालिका रहेका छन् ।

प्रदेश निजामती सेवा अध्यादेश २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ पदपूर्तिसम्बन्धी विशेष व्यवस्थाका लागि प्रदेश सरकारले प्रदेशका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकेको हो ।

प्रदेश सरकारले हरेक ३ वर्षमा मानव सूचकाङ्कमा सबैभन्दा पछाडि परेका पाँच वटा पालिका तोकेर प्रदेश राजपत्रमा प्रकाशित भएका पालिकाका उम्मेदवारबीच छुट्टै प्रतिस्पर्धा गराउने व्यवस्था अध्यादेशमा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*