बागमती प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग

बकैया दर्पण संवाददाता
२८ मंसिर २०७९, बुधबार ०७:४०

मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमबीच प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो ।

महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका (ह्विलचियर प्रयोगकर्ता) सदस्यलाई सहज हुने गरी प्रदेशसभाको संरचना निर्माण हुनुपर्ने माग गर्नुभएको हो । अध्यक्ष खड्काले मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट बागमती प्रदेश सभा सदस्यमा ह्विलचियर प्रयोगकर्ता (स्पाइनल कर्ड इन्जुरी) निर्वाचित भएकाले सोहीअनुसारको भौतिक संरचना निर्माण हुनुपर्ने बताउनुभएको छ ।

महासंघको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपांगता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ ।’

यस्तै, ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख सचिव खड्काले नयाँ बन्ने प्रदेशसभा बैठकको निर्माण कार्य तीब्र गतिमा भइरहेको र उक्त भवनलाई अपाङ्गमैत्री बनाउनतत्काल पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले पुरानो भवनमा समेत अपाङ्गमैत्री बनाउने बताउनुभयो । यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की लक्ष्मी घिमिरे निर्वाचित हुनुभएको छ । उहाँ शारीरिक अपाङ्गता भएकी ह्विलचियर प्रयोगकर्ता (स्पाइनल कर्ड इन्जुरी) रहेकाले उहाँको सहजताका लागि महासंघले प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*