अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नपाइने

बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार १६:४५

मकवानपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिने भएको छ ।

हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो ।

तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देवचन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त नियम आजबाट लागु भएको छ । यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुने छ । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ ।

तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*