हत्याको आरोपमा मकवानपुरका कान्छारामसहित दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०७९, मंगलवार ०९:५२

मकवानपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्वर ८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुािर, जेठ ५ गते दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती नदी किनारमा कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बागमती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ ।

हत्या पश्चात सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*