कांग्रेस नेताले लिएको ठेक्का ८ वर्ष देखि अलपत्र

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १७:२०

 

हेटौंडा: निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा प्रालिले लिएको बाग्मती पुल निर्माण नहुँदा राष्ट्रिय गौरवको योजना प्रभावित हुने भएको छ । दोस्रो संविधान सभामा मकवानपुर क्षेत्र नम्बर २ बाट तत्कालिन एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता सुवाषचन्द्र ठकुरीसँग नेपाली कांग्रेसको तर्फबाट चुनाव समेत लडेका लामिछानेले लिएको ठेक्का कारण राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल ८ बर्षअघि निर्माण सुरु भएपनि हालसम्म निर्माण सम्पन्न नहुँदा राजमार्ग निर्माण समेत प्रभावित भएको आयोजना कार्यालयले जनाएको छ ।
मदन भण्डारी राजमार्गमा निर्माण हुने ३४ वटा पुलमध्ये बाग्मती पुल सबैभन्दा ठूलो र बढी लागतको बलियो संरचना हो । २०६८ साल असार २९ गते स्वच्छन्द निर्माण सेवा प्रालिले सम्झौता गरी निर्माणको जिम्मा लिएको पुल २०७३ साल असार २८ गते सम्पन्न हुनुपर्ने थियो ।

म्याद थप गर्दै मौका

पुल निर्माणका लागि सरकारले दुईपटक म्याद थप गरी मौका दिइसकेको छ । सार्वजनिक खरिद ऐनको आठौँ संशोधन कार्यान्वयन गर्दा निर्माण कम्पनीका लागि आगामी जेठ २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । समयसीमा भित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजना सहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ । यद्यपि, प्रतिबद्धता अनुसार पर्याप्त जनशक्ति र उपकरणहरु प्रयोग नभएकाले समय सीमा भित्र काम सम्पन्न हुनेमा शंका उत्पन्न भएको आयोजनाका कार्यालय प्रमुख राजेश पौडेलले बताए । समयसीमा भित्र काम नगरे सरकारले ठेक्का रद्द गर्ने पौडेलले बताए, ठेक्का रद्द गर्दा सरकारलाई थप व्यभार समेत थपिने देखिएको पौडेलले जानकारी दिए ।
४३ प्रतिशत कम मुल्यमा ठेक्का सम्झौता , पेश्की फिर्ता

८ बर्षअघि नै टेण्डर प्रकाशन भएपछि स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले लागत रकम भन्दा ४३ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । ४२ करोड आठलाख रुपैयाँको लागत अनुमान गरिएको पुल करिब ४३ प्रतिशत कम मूल्यांकनमा २३ करोड ३७ लाख रुपैयाँमा स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले ठेक्का सकारेको हो । कार्यप्रगति कमजोर हुँदै गएपछि आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेश्कीबापतको २ करोड ६१ लाख रुपैयाँ समेत फिर्ता लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*