पावस दुग्ध उत्पादक सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा सम्पन्न
बकैया — पावस दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शुक्रबार एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ। सहकारी सदस्य, कृषक, स्थानीय प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सभालाई निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न गरिएको थियो।
सभाको अध्यक्षता पावस दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दोबनाथ पाण्डेले गर्नुभएको थियो। प्रमुख अतिथि रूपमा धर्मराज लामिछाने उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा बकैया गाउँपालिका–५ की वडा अध्यक्ष लक्ष्मी लोप्चन तामाङ र बकैया–६ का वडा अध्यक्ष फुलबहादुर भोम्जन रहनुभएको थियो।
त्यस्तै, विभिन्न सामाजिक संघ–संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमलाई थप भव्य बनाएको थियो।
सभामा संस्थाको १४ वर्षे यात्रा, उपलब्धि र चुनौतीबारे विस्तृत चर्चा गरिएको थियो। वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष दोबनाथ पाण्डेले प्रस्तुत गर्दै दुग्ध उत्पादन, संकलन, बिक्री वितरण तथा सदस्य कृषकसँगको सहकार्यबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।
आर्थिक वर्ष २०८१/८२को आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवनसिं गुरुङले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक हरिहर खनालले प्रस्तुत गर्दै संस्थाको आर्थिक व्यवस्थापन, पारदर्शिता र लेखापरीक्षणको अवस्थाबारे जानकारी दिनुभएको थियो।
कार्यक्रमको आकर्षण भनेकै उत्कृष्ट उत्पादन तथा बढी परिमाणमा दूध बिक्री गर्ने कृषकहरूको सम्मान रहेको थियो। आर्थिक वर्ष ८२/८३ मा १० हजार लिटरभन्दा बढी दूध बिक्री गरी सहकारीलाई योगदान पुर्याउने ९ जना कृषकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। यसले स्थानीय किसानहरूलाई अझ प्रेरित बनाएको सहकारीका पदाधिकारीहरूले बताइएको छ।
कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरूले सहकारीको कार्यप्रति प्रशंसा व्यक्त गर्दै किसानको आर्थिक उन्नति, पशुपालन तथा दुग्ध व्यवसायलाई थप सबल र आधुनिक बनाउन सहकारीले महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे। साथै, सहकारी मार्फत ग्रामीण आर्थिक समृद्धिमा ठूलो योगदान पुगेको भन्दै आगामी दिनमा अझ सशक्त योजनासहित अघि बढ्न सुझाव र शुभकामना व्यक्त गरे।
अन्त्यमा, सभाध्यक्ष दोबनाथ पाण्डेले सबैको सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै सहकारीको पारदर्शिता, विश्वसनीयता र सेवा विस्तारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
