बकैया-४ र ७ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिदै

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गर्ने तयारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले चैत ३१ गते आइतबार एक कार्यक्रममा बीच लालपुर्जा वितरण गरिने बताउनुभयो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा हुने कार्यक्रममा वडा नम्बर ७ का ३८ जना र ४ नम्बरका २३ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलितहरुलाई लालपुर्जा वितरण गर्ने भएको हो ।
बकैया-७, भिरकोटस्थित जनक माविको प्राङ्गणमा हुने कार्यक्रममा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आउनुहुने भएको छ । कार्यक्रममा सम्बन्धित जग्गाधनीले उपस्थित भएर आफ्नो लालपुर्जा लिन सक्नेछन् । कार्यक्रम बिहान ७:३० बजेदेखि सुरु हुने जनाएको छ ।