हात्तिचरन सामुदायिक वन उपभोक्ता समूहको २८औं वार्षिक साधारण सभा सम्पन्न
बकैया (मकवानपुर) : मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ मा अवस्थित हात्तिचरण सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २८औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको सभाध्यक्षता समूहका अध्यक्ष पोष बहादुर घिमिरे (राजन)ले गर्नुभयो। उक्त सभामा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश कुमार चन्द्रवंशी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।त्यसैगरी विशिष्ट अतिथिको रूपमा सब-डिभिजनका बिशाल भट्टराई, पुर्ण प्रसाद पोख्रेल, होम नाथ बस्तोला, वडा सदस्य बिष्णु कुमारी विश्वकर्मा तथा स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा, पत्रकार, र उपभोक्ता समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष घिमिरेले वनको संरक्षण, वन पैदावर व्यवस्थापन, वातावरणीय सन्तुलन, तथा सामुदायिक वनका माध्यमबाट स्थानीय विकासमा समूहले पुर्याएको योगदानबारे विस्तृत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले विगत वर्षका उपलब्धि र आगामी योजनाबारे समेत जानकारी दिनुभयो।

त्यसैगरी समूहका कोषाध्यक्ष कुशुम कुस्वर माझिले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययको विवरण सार्वजनिक गर्नुभयो।
प्रतिवेदन अनुसार, वन पैदावर बिक्री वितरण, दिगो वन व्यवस्थापन, वृक्षारोपण अभियान, आगलागी नियन्त्रण, र स्थानीय रोजगारी सृजनामा समूहले निरन्तर सक्रियता देखाउँदै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रवंशीले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समूहका सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामुदायिक वनलाई अझ प्रभावकारी र पारदर्शी ढंगले सञ्चालन गर्न सुझाव समेत दिनुभयो।
विशिष्ट अतिथि भट्टराईले पनि सामुदायिक वन प्रणाली नेपालको सफल नमूना भएको भन्दै हात्तिचरन सामुदायिक वनले उदाहरणीय कार्य गर्दै आएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन हात्तिचरन सामुदायिक वन उपभोक्ता समितिका सचिव कुन्साङ स्याङ्तानले गर्नुभएको थियो।
सभाको अन्त्यमा सहभागिहरूबीच समूहको भविष्यका योजनाबारे विचार–विमर्श समेत गरिएको थियो।
