ढुङ्गा झरेका कारण कान्तिलोकपथ सडक अवरुद्ध
मकवानपुर, असोज १६ ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११, घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा शुक्रबार बिहान ठूला ढुङ्गा खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
प्राप्त जानकारी अनुसार आज बिहान करिब ६:५५ बजे बाटो माथिबाट ठूला ढुङ्गाहरु खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सडक खुलाउनका लागि स्थानीय निकायसँग समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध भएको स्थान अ.प्र.पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ। हालसम्म कुनै मानवीय क्षतिको समाचार भने प्राप्त भएको छैन।
सडकमा ढुङ्गा हटाउने कार्य जारी रहेको र सडक सुचारु गर्न प्रयास तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
